
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा संविधानका आधारभूत विशेषता कमजोर हुन नहुने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालगायतका संविधानका आधारभूत विशेषता कमजोर हुन नहुनेमा जोड दिएका हुन् ।
प्रतिनिधि सभामा बैठकमा उनले भने ‘संविधान संशोधनको कुरा गर्दा हामी केही विषयमा स्पष्ट हुन आवश्यक छ, संविधान संशोधन गर्दा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालगायतका संविधानका आधारभूत विशेषता कमजोर हुनुहुँदैन ।’ देउवाले संविधान प्रारम्भ भएको दश वर्ष भइसकेकाले संविधानको अभ्यासको समीक्षा गर्ने समय आएको र आवश्यकताअनुसार संविधान संशोधनको परिमार्जन गर्नुपर्ने बताए ।
‘संविधान प्रारम्भ भएको दश वर्ष भइसकेको छ । दश वर्षको अन्तरालमा संविधानको अभ्यासको समीक्षा गर्ने भनिएकै छ । संविधान कार्यान्वयनमा देखापरेका सबल र दुर्वल पक्षको अध्ययन र पहिचान गरी आवश्यकताअनुसार संविधान संशोधनको परिमार्जन गर्नुपर्दछ’ देउवाले भने ।
देउवाले राजनीतिक दलहरूका बीचमा सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्