काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करण शुक्रबार (फागुन १६ देखि १८) सम्म काठमाडौंमा आयोजना गरिने भएको छ। ।
प्रतियोगितामा देशभरका एक सय जना विद्यार्थीले अन्तिम प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेका छन् । अर्थशास्त्र, वित्तीय साक्षरता र व्यवसायिक चिन्तनका क्षेत्रमा उनीहरूले प्रतिस्पर्धामार्फत आफ्नो दक्षता प्रमाणित गर्नेछन् ।
यस वर्षको ओलम्पियाडका लागि प्रारम्भिक चरणमा १ हजार ७२४ विद्यार्थीले आवेदन दिएका थिए । सातै प्रदेशका १८५ विद्यालय तथा कलेजका विद्यार्थीहरूले क्षेत्रीय छनोटमा भाग लिएपछि उत्कृष्ट १०० प्रतिस्पर्धी राष्ट्रिय चरणका लागि छनोट भएका हुन् । अब उनीहरूले तार्किक सोच, वित्तीय विश्लेषण र जटिल आर्थिक समस्याहरू समाधान गर्ने क्षमतामा परीक्षा दिनुपर्नेछ ।
राष्ट्रिय चरणमा उत्कृष्ट ठहरिएका पाँच विद्यार्थीले आगामी जुलाईमा अजरबैजानको बाकुमा आयोजना हुने अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्नेछन् । अन्य पाँच प्रतिस्पर्धीले अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडमा सहभागी हुने अवसर पाउनेछन् ।
प्रतियोगितामा बिजनेस केस एनालिसिस, वित्तीय साक्षरता सत्र, आर्थिक समस्यासँग सम्बन्धित तार्किक परीक्षण र सिमुलेशन गेमहरू समावेश गरिनेछन् । नेपालका अनुभवी अर्थशास्त्री, वित्तीय विज्ञ तथा शैक्षिक प्रशिक्षकहरूले प्रशिक्षण सत्र सञ्चालन गर्ने योजना गरिएको छ ।

नेपाली इकोनोमिक्स ओलम्पियाडका निर्देशक दिपक भण्डारीले यस प्रतियोगिताले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न क्षमतावान बनाउने उल्लेख गरे । उनका अनुसार यो ओलम्पियाड केवल ज्ञान परीक्षण गर्ने स्थल मात्र नभएर विद्यार्थीका लागि भविष्यका अर्थशास्त्री, नीति निर्माता तथा व्यवसायिक नेतृत्व विकास गर्ने महत्त्वपूर्ण अवसरसमेत हो ।
यस वर्षका उत्कृष्ट विद्यार्थीहरूले अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड र अस्ट्रेलासियन इकोनोमिक्स ओलम्पियाड सँगै विश्व इकोनोमिक्स कप, अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाड र इकोनोमिक्स एसिया कन्भेन्सन जस्ता प्रतिष्ठित प्रतियोगितामा समेत प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।
नेपाल इकोनोमिक्स ओलम्पियाडले केवल प्रतिस्पर्धा नभएर ज्ञान, सोच, नवाचार र व्यावसायिक क्षमताको परिक्षण गर्ने वातावरण सिर्जना गर्ने उद्देश्य राखेको जनाएको छ । यो ओलम्पियाड नेपाली विद्यार्थीहरूलाई वित्तीय साक्षरता, आर्थिक निर्णय क्षमतामा दक्ष बनाउँदै, अन्तर्राष्ट्रिय स्तरमा चुनौती सामना गर्न तयार पार्ने एक महत्वपूर्ण मञ्च बन्दै गएको छ ।
नेपाल इकोनोमिक्स ओलम्पियाड, नेपालमा आर्थिक शिक्षा र वित्तीय साक्षरता प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक महत्त्वपूर्ण प्रतियोगिता हो । यो ओलम्पियाड नेपालका विभिन्न विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूको लागि आयोजना गरिन्छ, जसमा आर्थिक सन्दर्भमा गहिरो ज्ञान र विश्लेषणात्मक क्षमता प्रदर्शन गर्नका लागि प्रतिस्पर्धा गरिन्छ ।
नेपाल इकोनोमिक्स ओलम्पियाडको इतिहास सन् २०१९ मा शुरू भएको हो, र त्यसपश्चात यसले विद्यार्थीहरूको बीचमा आर्थिक बोध र सोचको स्तरलाई महत्वपूर्ण रूपमा सुधार गर्न प्रतियोगितामार्फत मद्दत गर्दै आएको छ । प्रतियोगिता वित्तीय व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार, सरकारी नीति, र सामाजिक आर्थिक समस्याहरूमा आधारित विभिन्न बिषयमा प्रश्नहरूको उत्तर दिनमा केन्द्रित हुन्छ ।

यो प्रतियोगिता तीन चरणमा विभाजित छ । पहिलो चरणमा विद्यालय स्तरका प्रतिस्पर्धीहरूलाई छनोट गरिन्छ । दोस्रो चरणमा क्षेत्रीय स्तरका विद्यार्थीहरुलाई सामेल गराइन्छ भने त्यहाँबाट छनोट भएर आएका विद्यार्थीहरूले तेस्रो चरण अर्थात् राष्ट्रिय प्रतियोगितामा भाग लिई अन्तर्राष्ट्रिय स्तरका लागि छनोट हुन्छन् ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्