
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा सरकारले ल्याएका अध्यादेश, समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनका विषयमा छलफल हुने बताइएको छ । विषेशगरी राष्ट्रियसभाबाट भूमि अध्यादेश पारित हुन सकेको छैन् । यस्तै, संसदमा पेस भएका ६ वटा अध्यादेश पारित गर्ने विषयमा अहिले सत्तारुढ लदका नेताहरु बहुमत नपुगेपछि दौडधूपमा लागेका छन् ।
सरकारले ल्याएको भूमि अध्यादेशमा राष्ट्रियसभामा बहुमत नपुगेपछि गत एक महिनादेखि उक्त अध्यादेश अघि बढ्न सकेको छैन । विशेष गरेर नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु नै नेताहरुसँग भेटघाट गरेर अध्यादेशको पक्षमा मत दिन आग्रह गरिरहेका छन् भने राष्ट्रिय सभामा बलियो पकड भएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र अध्यादेशको विपक्षमा उभिएको छ ।
केही दिनअघि एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनलाई फोन गरेर अध्यादेश पारित गर्नका लागि सहयोग गर्न आग्रह गरेका थिए । पुनले आफूलाई पोखरेलले आग्रह गरेको विषय सार्वजनिक गरेपछि पोखरेलले पनि सामाजिक सञ्जालमार्फत् पुनको आलोचना गरे । अहिले सरकारलाई अध्यादेश कसरी संसदबाट पास गर्ने भन्ने विषय मुख्य चुनौती बनेको छ ।
यही विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक साँझलाई बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमालेबाट प्रधानमन्त्री ओलीसहित, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् । यस्तै, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि बैठकमा सहभागी हुने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्