
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वीरगञ्जस्थित सुख्खा बन्दरगाह विस्तारका लागि सरकारले अधिग्रहण गरेको जग्गाको मुआब्जा जग्गाधनीहरूले छिट्टै पाउने बताएका छन् ।
वीरगञ्ज–२५ मा अवस्थित सुख्खा बन्दरगाहको निरीक्षण भ्रमणका क्रममा मन्त्री अधिकारी सँगै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले समेत उक्त्त विषियमा चासो देखाए ।
शुक्रबार सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगञ्जस्थित सुख्खा बन्दरगाह विस्तारका लागि सरकारले अधिग्रहण गरेको जग्गाको मुआब्जा अझै वितरण हुन नसकेकोमा चिन्ता व्यक्त गरे । वीरगञ्ज–२५ मा अवस्थित सुख्खा बन्दरगाहको निरीक्षण भ्रमण तथा जनताको गुनासो बुझ्न अतिक्रमित गाउँ पुग्नुभएका मन्त्री गुप्ताले जग्गाधनीहरूले लामो समयसम्म पनि मुआब्जा पाउन नसक्नु चिन्ताको विषय भएको बताएका हुन् ।
मुआब्जा पीडित सङ्घर्ष समितिका बिजय कुमार तिवारीले वर्षौँदेखि जग्गा अधिग्रहण गरेर सरकारले पीडितलाई मुआब्जा नदिँदा स्थानियबासी मर्कामा परेकोगुनासो गरे । यो समस्यालाई तत्काल सम्बोधनका लागि संसदमा समेत विषय उठान गरिदिन उनले मन्त्री गुप्तालाई आग्रह गरेका थिए ।
सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बाँकी रहेको मुआब्जासम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइसकिएकाले जग्गाधनीहरूले छिट्टै नै मुआब्जा पाउने विश्वास व्यक्त गरे । सरकारले सुख्खा बन्दरगाह विस्तारका लागि वीरगञ्ज–२५ को करिब ३०० घरधुरी भएको ६२ बिघा जग्गा सात वर्ष अगाडिदेखि रोक्का गरेर राखेको छ ।
कार्यक्रममा मुआब्जा पीडित सङ्घर्ष समितिका अशोक चौधरी, वडाध्यक्ष आशुतोष चतुर्बेदी, वडा नम्बर १७ का वडाध्यक्ष सञ्जु छत्कुली, सञ्जय पटेल, भैयाराम प्रसाद, रामानन्द पटेल, शिव पटेललगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्