काठमाडौं । तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेताहरु सहभागी छन् ।
साथै उक्त छलफलमा गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, माओवादी केन्द्रका नेताहरु शक्ति बस्नेत र खिमलाल देवकोटा तथा प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेललगायत नेताहरु सहभागी छन् ।
बैठकमा संक्रमणकालीन न्याय टुंग्याउनका लागि छलफल अघि बढाउने तयारी छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक गत भदौमै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि आयोगमा पदाधिकारी चयन अझै हुन सकेको छैन ।
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी चयनका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समिति काम पूरा नगरी विघटन भएकाले नयाँ समिति बनाउनुपर्ने छ। त्यो समितिले आयोगका पदाधिकारी सिफारिस गरेपछि सरकारले नियुक्ति प्रक्रिया अगाडि बढाउँछ।
आयोग बनिसकेपछि आयोगले विभिन्न समिति, उपसमितिको संयन्त्र बनाउने कानुनी व्यवस्था छ। मिश्र नेतृत्वको सिफारिस समितिलाई ६० दिनको समयसीमा दिइएको थियो ।

















प्रतिक्रिया दिनुहोस्