काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको मुख्य जिम्मेवार पूर्व राजा ज्ञानेन्द्र शाह भएको बताएका छन् । उनले उक्त दिनको प्रर्दशनमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने प्रस्ट पारे ।
प्रधानमन्त्रीले सदनबाट भने, ‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न ।’
सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चैत १५ गतेका दिन घटेका सबै गतिविधि निन्दनीय र खेदजनक भएको उल्लेख गरे ।
‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता घटनामा संलग्नमाथि जुनसुकै तवरमा किन नहुन्, कडा प्रशासनिक कारबाही हुन्छ ।’
उक्त घटनाको अध्ययन भैरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीले सदनबाट सार्वजनिक गर्ने बताए ।
‘घटनामा संलग्नहरुमाथि छानबिन सुरु भएको छ । यसका योजनाकार को हुन् र को को संलग्न छन्? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको छ,’ ओलीले भने ।
उनले तीनकुने घटनको पृष्ठभूमि केलाउन १ वर्ष अघिदेखिको घटनालाई अध्ययन गर्नु आवश्यक रहेको उल्लेख गर्दै सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन मेडिकल व्यवसायी दुर्गा प्रसाईं सक्रिय भएको बताए ।
उनले भने,‘ १ वर्ष अघिदेखि एउटा तत्व क्रियाशील थियो । मौका खोजीरहेको थियो । धर्म, सँस्कृति, परम्पराजस्ता संबेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव विथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो । ऋण तिर्न पर्दैन भन्दै ऋणिहरुको भावनात्मक संवेदना माथि खेल्ने र बैंक वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्व सक्रिय थियो ।’
ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहले चैत १४ गते समाज विथोल्न लागिपरेका उनका समर्थक (दुर्गा प्रसाईं )लाई आफ्नै निवासमा डाकेर कथित “जनकमाण्डर” तोकेको दाबी गर्दै हिंसात्मक गतिविधिको लागि खटाएको टिप्पणी गरे । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको निर्णयपछि भएको सम्झौताको उल्लंघन गरेको, हिंसा भड्काउने तत्वलाई उक्साएको भन्दै तीनकुने घटनाको जिम्मेवारी पूर्व राजाले लिनुपर्ने बताए ।
उनले पूर्व राजाको मौनतालाई कटाक्ष गर्दै भने, ‘यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ? यी सबै घटनाको मुल जिम्मेवार उहाँ हो, उहाँले लिनु पर्छ ।’

















प्रतिक्रिया दिनुहोस्