Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दार्चुलाको अस्पतालमा चल्दैनन् मेसिन, सात महिनादेखि तलबविहीन स्वाथ्यकर्मी

दार्चुलाको अस्पतालमा चल्दैनन् मेसिन, सात महिनादेखि तलबविहीन स्वाथ्यकर्मी
विज्ञापन
Advertisement

दार्चुला । शैल्यशिखर नगरपालिका मातहतमा रहेको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ हुँदै आएको छ । बजेट र जनशक्ति अभावमा अस्पताल सञ्चालनमा कठिनाइ भइरहेको हो ।

विज्ञापन
Advertisement
Advertisement

बैतडी र दार्चुलाको मुख्य केन्द्रविन्दुमा पर्ने सो अस्पतालमा मेडिकल सुपरिडेन्ट नवौं तहको दरबन्दी स्थापनादेखि रिक्त छ । दुई जना मेडिकल अधिकृत करारमा छन् । ‘मेडिकल अधिकृतको दरबन्दी भए पनि पुरै समय यहाँ बस्नसक्ने अवस्था छैन्’, नगरपालिकाका स्वास्थ्य संयोजक शिवदत्त जोशीले भने, ‘सेवा सुविधाको कमीले गर्दा यहाँ बस्न रुचि कमैले देखाउने गरेका छन् । तोकिएको तलबबाहेक स्थानीय सरकारले थप बजेट दिएर चिकित्सक टिकाउनुपरेको छ।’ अस्पतालमा डा मनोजबहादुर पाल र उत्तमसिह धामी मात्रै कार्यरत छन् ।

राम्रो सेवा सुविधा दिन नगरपालिकाले नसक्ने तथा डाक्टर टिकाउन सेवा सुविधा जरुरी हुने जोशीको भनाइ छ । अस्पतालसँग प्रयाप्त मात्रामा भौतिक पूर्वाधार छैन । आव २०५५÷५६ मा प्राथमिक स्वास्थ्य केन्द्र हुँदा निर्माण गरिएको भवनबाट सेवा दिनुपरेको छ । तीन शय्या भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै अहिले १५ शैय्यामा पु¥याइएको छ । पूरानै भवनलाई अहिले काम चलाउको रुपमा सञ्चानलमा ल्याइएको स्वास्थ्य संयोजक जोशीले उल्लेख गरे ।

सडक मार्गले नजिक भएका कारण पनि गोकुलेश्वर अस्पतालमा सेवाग्राही बढी हुने गर्छन् । नगरपालिकाको स्रोतले मात्रै अस्पताल सञ्चानल गर्नमा समस्या भइरहेको छ । अस्पताल सञ्चालनका लागि प्रदेश सरकारबाट सहयोग पनि नपाइएको उनको गुनासो छ । छिमेकी जिल्ला बैतडी र दार्चुलाका स्थानीय तहसँगको अन्तरपालिका समन्वय बैठक हुँदा पनि अस्पताल सञ्चालनमा सहयोग जुट्न नसकेको स्वास्थ्य संयोजक जोशीले बताए । अरु कहिँबाट बजेट र उपकरण सहयोग नआएपछि अस्पतालको अवस्था दिनानुदिन कमजोर हुँदै गएको छ ।

यो अस्पतालमा दार्चुलाका लेकम गाउँपालिका, शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र अपिहिमाल गाउँपालिकाका बिरामी चेकजाँचको लागि आउने गर्छन् । यस्तै छिमेकी जिल्ला बैतडीको डिलाशैनी नगरपालिका, दोगडाकेदार गाउँपालिका, पूर्चौडी नगरपालिका र बझाङको बुङ्गल नगरपालिकाका सेवाग्राही अस्पतालमा पुग्ने गरेका छन् ।

महाकाली राजमार्गसँग जोडिएको शैल्यशिखरबाट जिल्ला अस्पतालसम्म पुग्न तीन घण्टा समय लाग्छ । गोकुलेश्वरमा निको नहुने बिरामी डडेल्धुरा अस्पताल वा धनगढी रिफर गर्न सजिलो हुने भएकाले यहाँको अस्पताल बिरामीका लागि पहिलो रोजाइ बन्ने गरेको अस्पतालका चिकित्सक डा पाल बताउँछन् । अस्तालसँग भएका उपकरण बिग्रिँदै जानु तथा मर्मतमा समेत कसैले चाँसो नदिँदा अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ ।

यो अस्पताललाई प्रदेश सरकार मातहत लगाउने विषयमा छलफल भइरहेको नगर प्रमुख विजयसिह धामीले बताए । ‘सुरुमा छिमेकी स्थानीय तहसँग छलफल गर्छौं । सेवा सुविधामा साझेदारी गर्न तयार हुन्छन् भने स्थानीय मातहतमै चलाउँछौ, तर सहकार्य नहुने हो भने शैल्यशिखर नगरपालिकाले मात्रै अस्पताल धान्न सकिँदैन ।’

अल्ट्रासाउण्ड मेसिन बिग्रिँदा सेवा प्रवाहमा समस्या

अस्पतालको अल्ट्रासाउण्ड मेसिन बिग्रिँदा बिरामीको जाँचमा समस्या भएको छ । तीन महिनादेखि अल्ट्रासाउण्ड मेसिन बिग्रिएको अस्पतालले जनाएको छ । मेसिन मर्मत हुन नसक्दा अस्पतालमा आउने बिरामीको जाँचमै समस्या भएको नगर स्वास्थ्य संयोजक जोशीले जानकारी दिए । ‘अस्पतालसँग सुरुमा तीन वटा अल्ट्रासाउण्ड मेसिन थियो । दुई मेसिन यसअघि नै बिग्रिए, एउटा चैतदेखि बिग्रिपछि समस्या भएको छ ।’

अस्पतालमा दैनिक सयौं बिरामी आउने गर्छन् । यो अस्पताल दार्चुलाको मात्र नभइ बैतडीका सेवाग्राहीका लागि पनि केन्द्रमा पर्दछ । अस्पतालमा भिडियो एक्सरे गर्नुपर्ने गर्भवतीको सङ्ख्या नै दैनिक १५÷२० जना आउँछन् । त्योबाहेक सामान्य बिरामी सयौं हुन्छन् । चिकित्सक पालका अनुसार अस्पताल आउने बिरामीको भिडियो एक्सरे नहुँदा सास्ती छ । एक महिना अघि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले मर्मत गरिदिन्छु भनेर पठाइएको अल्ट्रासाउण्ड मेसिन अझै बनेको छैन । उहाँका अनुसार बिग्रिएको मेसिन पनि प्रभावकारी थिएन । मेसिन बने नबनेको जानकारी समेत आएको छैन ।

सात महिनादेखि तलब पाएका छैनन् स्वास्थ्यकर्मीले

यहाँका स्वास्थ्यकर्मीले सात महिनादेखि तलब लगायतका सेवा सुविधा पाएका छैनन् । तलबसमेत समयमै नआउँदा स्वास्थ्यकर्मीलाई काम गर्न धौ–धौ भइरहेको छ । संघीयअन्तर्गत कार्यरत कर्मचारीले समयमै तलब पाए पनि स्थानीय तह र स्थानीय तहले थप गर्नुपर्ने सेवा सुविधा समयमै नपाउँदा स्वास्थ्यकर्मीलाई समस्या भएको छ । नगरपालिकाले करारमा भर्ना भएका कार्यालय सहयोगी, स्वीपरदेखि अहेवसम्म १५ कर्मचारीले सात महिनादेखि तलब पाएका छैनन् । ‘सुरुमा तीन महिनाको तलब निकासी भएको छ । त्योबाहेक हालसम्म तलबसमेत खान पाएका छैनौं । कार्यरत स्वास्थ्यकर्मीले भने । यस्तै, अस्पतालमा कार्यरत दुई चिकित्सकको नगरपालिकाले थप गर्नुपर्ने तलबसमेत गएको छैन । सेवा सुविधा नहुँदा स्वास्थ्यकर्मीलाई काम गर्नसमेत समस्या भएको छ ।

स्वास्थ्य संयोजक जोशी स्थानीय सरकारबाहेक कसैले सहयोग नगर्दा तलब लगायतका सेवा सुविधा व्यवस्थापनमा समस्या भएको स्वीकार गर्छन। पूर्वाधार, जनशक्ति र मेसिन खरिदमा कसैको सहयोग जुटेको छैन । स्थानीय स्रोत र राजस्वमार्फत सञ्चालन निकै चूनौतिपूर्ण रहेको उनको भनाइ छ । स्वास्थ्यकर्मीलाई तलब लगायतका सेवा सुविधा समयमै व्यवस्थापनमा आफुले पहल गरिरहेको उनको भनाइ छ । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit