
काठमाडौं । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । सिङ्गापुरले नेपाललाई जितको लागि दिएको एक सय ३९ रनको लक्ष्य नेपालले चार विकेटको क्षतिमा ३३. ३ ओभरमै पूरा गर्यो । नेपालका लागि प्रसिद्ध जैसीले सर्वाधिक ५५ रनको पारी खेले ।
९७ बलको सामना गरेका जैसीले अविजित ५५ रन बनाएका हुन् । यस्तै, ४४ बलको सामना गरेका रौनक श्रीवास्तवले ४० रन बनाए । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सिङ्गापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो । सिङ्गापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए ।
त्यसैगरी, ओपनर आहान भुधानभामले ३८ रन जोडे भने अर्का ओपनर रोशन अरुनले ११ बनाउँदै आउट भए । सिङ्गापुलाई एक सय ३८ रनमा समेट्ने क्रममा नेपालका कप्तान विपिन शर्माले चार विकेट लिए । त्यसैगरी सचिन भट्टले तीन तथा शुभम खनाल र अभय यादवले समान एक–एक विकेट लिए ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिकाअनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको नेपालले विजयी सुरुवात गरेको छ ।
प्रतिक्रिया दिनुहोस्