images
images

पप्पुले १२ वर्षदेखि अलपत्र बनाएको तीनकुने र टेकु पुल (तस्बिरहरु)

images
images
images

काठमाडौं । एकै समयमा निर्माण शुरु भएका काठमाडौंको तीनकुने र टेकु(कालीमाटी पक्की पुल अहिलेसम्म अलपत्र छन्। त्यहीबेला काम थालिएका बिजुलीबजार र डल्लुको पुल सञ्चालनमा आएको लामो समय भइसक्यो तर तीनकुने र टेकु पुलको अवस्था बर्षैंदेखि अलपत्र बनेको छ ।

२०७१ सालमा पप्पु कन्स्ट्रक्सन प्रालिले काठमाडौंका चार पक्की पुलको ठेक्का पाएको थियो। एउटा प्याकेजमा टेकु र डल्लु पुल अनि अर्को प्याकेजमा तीनकुने र बिजुलीबजार पुल ठेक्का लगाइएको थियो।

images
images

पप्पु कन्स्ट्रक्सनले चारवटै पुलको निर्माण २०७४ सालमा सक्नेगरी सम्झौता भएको थियो। म्याद थप्दैथप्दै २०७६ सालमा बिजुलीबजारको पुल सञ्चालनमा आयो। डल्लु पुल २०७८ मा तयार भएर प्राविधिक जाँचपछि कम्पनीले सरकारलाई हस्तान्तरण गर्‍यो र सञ्चालनमा आयो।

टेकु पुलमा भने निर्माण कम्पनीले बदमासी गरेको फेला पर्‍यो। त्यसपछि प्राविधिक समस्या आएको भन्दै सरकारले तयार भएको पुल बन्द गर्‍यो। ठेकेदार कम्पनीले कमसल गुणस्तरको सामग्री प्रयोग गर्दा पुल सवारी चलाउन अयोग्य भएको हो। अहिले पनि यो पुलमा सवारीसाधन चलाउन पाइँदैन। निर्माण कम्पनी अदालत पुगेकाले सो बारे अदालतको फैसलाले निर्णय गर्नेछ ।

अलपत्र पुल सञ्चालन गर्ने कि भत्काउने भन्ने विषयमा अझै अन्योल छ। गत जेठ २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुलको लोड टेष्ट गरेर सञ्चालन गर्नेतर्फ सरकार लागिरहेको बताएका थिए। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले सञ्चालन योग्य भएको खण्डमा लोड टेस्ट गरेर सञ्चालनमा ल्याउने तयारीमा लागिपरेको बताएका हुन्।

तीनकुनेको पुल त झन् बन्दै बनेन। २०७१ सालमै ठेक्का लगाइएको यो पुल निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको प्रमाणित भइसकेको छ। तोकिएभन्दा फरक डिजाइन र कमसल तरिकाले निर्माण सुरु थालेपछि बिचमै सडक विभागले काम रोकिदिएको थियो। २०७७ सालमा काम रोकिएकोमा अहिलेसम्म शुरु भएको छैन। गुणस्तरहीन काम भएपछि ढलान गर्ने अवस्थामा पुगेको पुल सरकारले भत्काएको छ। अहिले पुलको वारिपारि दुईवटा पिलर र बेसमेन्ट मात्र देखिन्छ।

अलपत्र संरचना सवारीसाधन र पैदल यात्रुका लागि जोखिम बनेको छ। पुल बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा २०८० असोज १४ गते एक जनाको मृत्यु भएको थियो। ​पप्पुसँगको ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउन लागेको सरकारी अधिकारीहरूले बताएका छन्।

हेर्नुहोस् तस्बिरहरु :

नेपाल फोटो लाइब्रेरी

 

images
images

प्रतिक्रिया दिनुहोस्