
काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपालले इन्डोनेसिया सामु ४ सय २१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । आइतबार टस हारेर पहिला आक्रामक ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २० रनको विशाल योगफल बनाएको हो ।
उक्त विशाल योगफलका लागि नेपाली युवा खेलाडी ओपनर प्रसिद्ध जैसीले इन्डोनेसियाविरुद्ध शतक प्रहार गरे । प्रशिद्धले इन्डोनेसियाविरुद्ध ६९ बलमा शतक पूरा गरेका हुन् । ११४ बलको सामना गरेका जैसीले १५ चौका र १ छक्काको मद्दतमा १३२ रनको आकर्षक पारी खेले ।
पहिलो विकेटका लागि ओपनर प्रसिद्ध र परिमार्जन यादवले १ सय ३२ रनको साझेदारी गरेका थिए ।
अर्का ओपनर परिमार्जनले २८ बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै ७१ रनको अर्धशतकीय इनिङ खेले। यस्तै, ६ बल खेलेका शिवान्स बजगाईंले ४ रन आउट हुँदा रौनक श्रीवास्तवले ७१ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८८ रनको अर्धशतकीय इनिङ खेले ।यस्तै ४१ बल खेलेका जोय थापाले ७ चौका प्रहार गर्दै ५७ रनको अर्धशतकीय पारी खेले । छैठौं विकेटका लागि सगम र रोशन शाहीबीच बलमा ३३ रनको अविजित साझेदारी भयो । सुगम बुढाथोकीले ३४ बलमा ३९ र शाहीले अविजित १० रन जोडे ।
इण्डोनेसियाका लागि किटुट धर्मपुत्रले २ , कविन निरज चन्दा, महेन्द्र अजी र राहान रिजाले समान १ /१ विकेट लिए ।
यसअघि नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो। अर्कोतर्फ पहिलो खेलमा सिंगापुरसँग पराजित इण्डोनेसियाले दोस्रो खेलमा भुटानमाथि जित निकालेको थियो ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को बार्षिक कार्यतालिका अनुसार जारी प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार छन् ।
प्रतिक्रिया दिनुहोस्