images
images

इँटा भट्टामा काम गर्ने गोमाले ल्याइन् ४ जिपिए, भन्छिन् – ‘डाक्टर बनेर सेवा गर्ने चाहना छ’

images
images
images

भादगाउँ । माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् ।

चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी गोमालाई एसइईको नतिजा सार्वजनिक भयो भन्ने खबरले आफ्नो नतिजाबारे उत्सुकता जाग्नु स्वाभाविकै हो। मेलाबाट फर्किएपछि उनले हतारहतार अनलाइनमार्फत आफ्नो नतिजा खोज्न थालिन । नतिजा आउँदा उनको खुसीको सीमा रहेन । गोमाले सर्वोत्कृष्ट अङ्क ४ जिपिए ल्याएकी थिइन् ।

images
images

सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि ४ जिपिए हासिल गरेकी गोमाले भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भइन् । उनी चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी पनि बनिन् । गोमाको थातथलो रामेछापको खनियाँपानी हो । उनी चार वर्षको उमेरमा अभिभावकसँग खनियापानीबाट भक्तपुर आएकी थिइन् । परिवारको कमजोर आर्थिक अवस्था र छोरी गोमाको पढाइप्रतिको रुचिका कारण खनियापानी छाडेर भक्तपुरको सुडाल आएको गोमाको बुबा मीनबहादुर श्रेष्ठले बताउँछन् ।

“एकातर्फ कमजोर आर्थिक अवस्था अर्कोतर्फ छोरी गोमाले सानै बेलादेखि पढाइप्रति रुचि राख्ने भएकाले आफ्नो थातथलो छोडेर भक्तपुर आएँ, कामको खोजी गर्दै । त्यो बेला गोमा चार वर्षकी थिइन्,” मीनबहादुरले विगत स्मरण गर्दै भने, “रामेछापको खनियाँपानीबाट भक्तपुर झर्नुको खास कारण छोरीको पढाइकै कारणले हो ।”

भक्तपुर आएर इँटाभट्टामा काम सुरु गरेका मीनबहादुरले गोमालाई नजिकैको महेन्द्रग्राम माध्यामिक विद्यालयमा भर्ना गरिदिए । “खनियाँपानीको लेकबाट बेँसीसम्मको विद्यालय पुग्न एक घन्टा ओरालो लाग्नुपथ्र्यो । यसैले ज्याला मजदुरी गरेर, इँटा पारेर, भारी बोकेर भए पनि पढाउँला भनी भक्तपुर सरेका हौँ । भक्तपुरमा कामको सिलसिलामा इँटाभट्टामा काम गरेँ, इँटा पारे, छोरीलाई इँटा भट्टासँगैको विद्यालयमा भर्ना गरिदिएँ ।”

दिउँसो विद्यालय जाने गोमा साँझ बिहान भने इँटाभट्टको खलामा खेल्दै हुर्कन थालिन । उमेरसँगै गोमाले बुबाआमाको काममा सघाउन थालिन । दिउँसो विद्यालय जाने, साँझ बिहान खलाको इँटा सुकाउन ओल्टाइपल्टाई गर्ने उनको कक्षा ९ मा अध्यय गर्दासम्मको उनको दैनिकी यही थियो ।

कक्षा १० पुगेपछि भने गोमाले आफ्नो दैनिकीलाई केही परिवर्तन गरेको सुनाइन । उनले १० कक्षामा बुबाआमाको सल्लाह अनुसार पढाइलाई नै मुख्य ध्यान दिएर तयारी गरेको सुनाइन ।

“बुबाआमाले पनि अबको एक वर्ष पढाइ ध्यान दिन भन्नुभयो । एसइई दिनुपर्ने भएकाले विद्यालयले पनि पढाईमा जोड दिन सुझाव दिनुभयो । त्यसैले मैले आफ्नो दैनिकीलाई केही परिमार्जन गरेर पढाइमा ध्यान दिन थालेंँ । यसैको परिणाम आज मैले एसइईमा राम्रो नतिजा पाएँ,” गोमाले भनिन् ।

गोमाले भविष्यको लक्ष्य डाक्टर बन्ने रहेको सुनाइन । तर त्यसको लागि कडा मेहनतका साथ पढेर छात्रवृत्तिमा नाम निकाल्नुको विकल्प नभएको उनले बताइन् । “विज्ञान सङ्कायमा प्लस टु गरी नेपालको कुनै पनि मेडिकल कलेजमा छात्रवृत्तिमा नाम निकालेर एम बिबिएस पढ्ने लक्ष्य छ । एक असल डाक्टर बनेर मेरो जन्मदाता, देश र जनताको निःस्वार्थ रुपमा सेवा गर्नु नै मेरो मुख्य लक्ष्य हो । यसका लागि कडा मेहनत चाहिन्छ भन्ने ज्ञान छ । सोही अनुसार तयारी गर्छु,” गोमाले भविष्यको सपना सुनाइन । रासस

images
images

प्रतिक्रिया दिनुहोस्