
काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपालले भुटानलाई ३५९ रनको लक्ष्य दिएको छ ।
नेपाली ब्याट्सम्यान रौनक श्रीवस्तवले शतक प्रहार गरेसँगै आक्रामक व्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनाएको हो ।
मलेसियामा जारी प्रतियोगिताअन्तर्गत टस जितेर भुटानविरुद्ध ब्याटिङ रोजेको नेपालका लागि रौनक श्रीवस्तवले सर्वाधिक १ सय ६८ रनको योगदान दिए । ९५ बलमा शतक पूरा गरेका रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै १ सय ६८ रन बनाए । उनि अन्तिम ओभरको खेलमा क्याच भए ।
खेलको सुरुवातमै दुई ओपनरलाई गुमाएको नेपालले १७ रन बनाएको थियो । अघिल्लो खेलमा शतक प्रहार गरेका प्रसिद्ध जैसी ७ र परिमार्जन यादव २ रनमा आउट भए । तेस्रो विकेटका लागि रौनकले शिवान्शं बजगाईंसँग ९१ रनको साझेदारी गर्दै स्कोरलाई बढाएका थिए।
शिवान्शं ५२ बलमा ५ चौका प्रहार गर्दै ५४ रनमा आउट भए । सुगम बुढाथोकीले ३३ बलमा ४ चौकाको सहयोगमा ३५ रन बनाए । यस्तै, पाँचौ विकेटका लागि रौनकले जोय थापासँग मिलेर १ सय ७० रनको शतकीय साझेदारी गरे । जोय ६७ बलमा ७ चौका प्रहार गर्दै ६१ रनमा अविजित रहे ।
भुटानका लागि संजय दोर्जेले सर्वाधिक ३ र तेन्जिन लोडेले १ विकेट लिए ।
तीनै खेलमा अपराजित नेपाल समूहको शीर्ष स्थानमा रहँदै नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्