
काठमाडौं । नेपालको अग्रणी मनोरञ्जन च्यानल डिशहोमको रमाइलो टिभीले बहुचर्चित भारतीय टेलिभिजन सिरिज ‘रामायण’ लाई नेपाली भाषामा प्रसारण गर्ने भएको छ । यो ऐतिहासिक धार्मिक श्रृंखला असार १९ गते देखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुने छ ।
‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन श्रृंखला हो, जसलाई प्रसिद्ध निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । यो सिरिज पहिलो पटक सन् १९८७ देखि १९८८ सम्म भारतको डीडी नेसनल च्यानलमा प्रसारित भएको थियो । आशोक कुमार र रामानन्द सागरद्वारा प्रस्तुत गरिएको यस श्रृंखलाको संगीत रविन्द्र जैनले संयोजन गरेका थिए ।
‘रामायण’ ले प्रसारणको समयमा भारतमा ८२ प्रतिशत दर्शक संख्यालाई जोडेर इतिहास रचेको थियो । बीबीसीका अनुसार, ‘रामायण’ ६५ करोडभन्दा बढी दर्शकद्वारा हेरिएको उत्कृष्ट धार्मिक श्रृंखला हो । यस श्रृंखलाको पुनःप्रसारण विश्वका १७ देशका २० भन्दा बढी च्यानलहरूमा पनि भएको थियो । ‘रामायण’ले २०२० मा कोरोना लकडाउनको समयमा पुनः प्रसारण हुँदा एकै दिन ७.७ करोड दर्शक संख्यासहित विश्वको सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रमको कीर्तिमान राखेको थियो ।
डिशहोमका ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न लोकप्रिय कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु प्रसारण गर्दै आएको छ । सोही क्रममा डिशहोमको ग्राहकहरुले यस ऐतिहासिक र आध्यात्मिक कथा नेपाली भाषामा हेर्न पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्