
काठमाडौं । एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा नेपालले भुटानमाथी २ सय ९८ रनको फराकिलो जित निकालेको छ । मंगलबार मलेसिया भएको खेलमा नेपालले दिएको ३ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाउदै ६० रनमा समेटियो । भुटानको अन्तिम ब्याटर क्रिजमा नआउँदै बर्षा सुरु भएपछि नेपाल विजयी भयो ।
भुटानका लागि सुजन दावाले सर्वाधिक १४ रन बनाउँदा ओपनर उयोग छोफेल १० रनमा आउट भए । भुटानका लागि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि १० ओभर बलिङ गरेका कप्तान विपिनप्रसाद शर्माले ४ मेडन राख्दै ७ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । यस्तै, सचिन भट्ट तथा सुयोग भट्टराईले समान २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा ३ सय ५८ रन बनाएको थियो ।
नेपालका लागि रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक १ सय ६८ रनको शतकीय इनिङ खेले । १७ रन बनाउँदा २ ओपनरहरुलाई गुमाएको नेपालका लागि तेस्रो विकेटका लागि रौनकले शिवान्शं बजगाईंसँग मिलेर ९१ रनको साझेदारी गरे ।
यसैगरी शिवान्शं र जोय थापाले अर्धशतकीय इनिङ खेले । शिवान्शले ५४ रन बनाउँदा जोय ६१ रनमा अविजित रहे भने सुगम बुढाथोकीले ३५ रन बनाए । ओपनरद्वाय प्रसिद्ध जैसीले ७ तथा परिमार्जन यादव २ रन बनाएर आउट भए ।
भुटानका लागि संजय दोर्जेले ३ र तेन्जिन लोडेले १ विकेट लिए ।
नेपाल समूह चरणको चारै खेलमा विजेता बन्दै शीर्ष स्थानमा रहेर यो खेल अगाडि नै सेमिफाइनल पुगिसकेको छ । यो समूहबाट दोस्रो स्थानमा रहदै सिंगापुरले सेमिफाइनलमा स्थान बनाएको छ ।
चारै खेलमा पराजित भुटान अंक बिहिन भएको छ । सिंगापुर, जापान र इण्डोनेसियासँग पराजित भुटान समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरीएको छ । अब मलेसियासँग नेपालले बिहीबार फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछ भने प्रतियोगिताको फाइनल असार २१ मा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्