
काठमाडौं । एसिसी यू–१६ इस्ट कप क्रिकेटमा मलेसियालाई हराउदै डिफेन्डिङ च्याम्पियन नेपालले फाइनलमा स्थान बनाएको छ । घरेलु टोली मलेसियामाथि ९ विकेटको जित दर्ज गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।
क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको मलेसिया ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ९० रनमा अलआउट भयो । ९१ रनको लक्ष्य पछ्याएको नेपालले मात्र १ विकेट गुमाएर ११ दशमलब ४ ओभरमै लक्ष्य भेट्टायो ।
नेपालका लागि ओपनर परिमार्जन यादवले सर्वाधिक ५९ रन बनाए । ३५ बलको सामना गरेका यादवले अविजित ५ चौका र ५ छक्का प्रहार गरे । यस्तै, २२ बल खेलेका शिवान्श बजगाईंले ५ प्रहार गर्दै २३ रनमा अविजित रहे भने ओपनर प्रसिद्ध जैसी २ रनमा आउट भए । मलेसियाका लागि नागिनिश्वरमले १ विकेट लिए ।
त्यसअघि मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । त्यसैगरी कप्तान दियाज पात्रोले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालका लागि अभय यादवले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी सुभम खनालले तीन विकेट लिए भने कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १÷१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्