
काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित चम्पादेवी डाँडामा केबलकार निर्माणको तयारी भएको छ । कीर्तिपुर र दक्षिणकाली नगरपालिकामा चम्पादेवी केबलकार सञ्चालन गर्ने गरी थालिएको हो ।
चम्पादेवी इकोफ्रेन्डली कम्पनी प्रालिले केबलकार पूर्वाधार बनाउन वातावरणीय प्रभाव मूल्यांकनको काम सम्पन्न गरिसकेको जनाएको छ । केबलकार पूर्वाधारको काम अहिले प्रारम्भीक चरणमा रहेको छ भने वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव प्रतिवेदनमा स्थानीयसँग सुझाव माग गरेको छ ।
चम्पादेवी इको–फ्रेण्डली कम्पनी प्रालिले चम्पादेवीमा केबलकार बनाउनका लागि वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेश गरी कीर्तिपुर नगरपालिका वडा नम्बर ४ र दक्षिणकाली नगरपालिका वडा नम्बर १ मा उक्त केवलकार बनाउन लागेको हो ।
५०० करोड लगानीमा निर्माण गरिने भनिएको यो केवलकारको माथिल्लो स्टेसन कीर्तिपुर नगरपालिका वडा नम्बर ४ मा रहनेछ भने तल्लो स्टेशन दक्षिणकाली नगरपालिका वडा नम्बर १ मा रहनेछ । प्रारम्भिक प्रतिवेदन अनुसार २.०७५ किलोमिटर लम्बाई हुने यो केबलबार मोनोकेबल डिट्याचएवल गोन्डोला किसिमको हुनेछ । केबलकारको माथिल्लो स्टेशन र तल्लो स्टेशनबीच ७५४.५ मिटरको उचाई भिन्नता रहने छ ।
आयोजनामा कुल ३४ वटा पुर्ण बन्द हुने केबिन प्रकृतिका गोन्डोलाहरु हुन्छन् । यस्तै २ वटा सामान बोक्न तथा १ वटा मर्मतका लागि हुनेछ । प्रति केबिनको क्षमता करिब ८०० किलो वा १० जना व्यक्ति रहने छ । आयोजनामा केबलहरु बीचको दूरी ६.४ मिटर र ढुवानी केबलको मोटाई ५४ मिलिमिटर रहेको छ । स्प्लिसड केवलको लम्बाई ४२२५.८ मिटरको रहनेछ भने केबलको प्रकार स्टिल वायर किसिमको हुने प्रतिवेदनमा उल्लेख छ ।
केबलकार सञ्चालनका लागि आवश्यक पर्ने उर्जा भने तल्लो स्टेसनमा सुरुवातमा ७१४ किलोवाट र ५३५ निरन्तर चाहिने तथा माथिल्लो स्टेसनमाम १५० किलोवाट लाग्ने अनुमान छ । केवलकारको गति ६ मिटर प्रति सकेन्ड रहनेछ भने एक स्टेसनबाट अर्को स्टेसनसम्म पुग्नका लागि ७.०१ मिनेट समय लाग्नेछ । आयोजनामा १२ वटा टावर राखिनेछन् । तल्लो स्टेसनमा विभिन्न संरचनाहरु निर्माणका लागि ५९७५ वर्ग मीटरको क्षेत्र रहनेछ, जसमा प्रवेशद्वार, मुख्य भवन, दुई पांग्रे तथा चार पांग्रे पार्किङ, पम्प हाउ, पानी ट्यांकीलगायतका संरचना हुनेछन् ।
यस्तै माथिल्लो स्टेसनमा १.८० हेक्टरको क्षेत्रफलमा स्टाफ क्यान्टिनदेखि केबलकार उत्रने र चढ्ने ठाउँ तथा अपरेटर रुप र उपकरणहरु राखिने छन् । यस्तै, मन्दिर, मनोरञ्जन भवन र पार्क पनि यहीँ हुनेछ, जहाँ इनडोर गेमिङ जोनदेखि एम्फीथियटरसम्मका सुविधा हुने बताइएको छ । भ्याट बिना ५ सय करोड लगानीमा बन्ने प्रस्ताव गरिएको यो आयोजनाको पेब्याक अवधि १० वर्ष रहेको छ भने निर्माण अवधि दुई वर्ष हुने उल्लेख छ ।
राजधानीमा चन्द्रागिरीपछि कीर्तिपुर र दक्षिणकाली नगरपालिकामा छ अर्ब रुपैयाँ लगानीमा चम्पादेवी केबलकार सञ्चालन हुन लागेको छ ।
नोट : फाइल तस्बिर
प्रतिक्रिया दिनुहोस्