
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले भ्रष्टाचार गरेको तथ्य प्रमाण कसैले देखाए मात्रै पनि जुनसुकै बलिदान गर्न आफू तयार भएको बताएका छन् ।
शुक्रबार नेकपा (एकीकृत समाजवादी) विद्यार्थी जिल्ला कमिटीको पाचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूले कुनै भ्रष्टाचार नगरेको कारण नडराएको बताए । उनले धर्तीको एकजना मान्छेले ‘माधव नेपालले भ्रष्टाचार गरेको छ’ भनेर तथ्य मात्र देखाए आफूले जुनसुकै कारबाही स्वीकार्न तयार भएको बताए ।
उनले भने, ‘पार्टीका बारेमा केही मानिसले नकारात्मक टिप्पणीहरु गर्ने गरेका छन् । कसैले यो पार्टी चल्दैँन् भन्छन्, कसैले टिक्दैँन् भन्छन् । मेरो एउटा मान्यता छ, नबिराउनु, नडराउनु । बिराएको छैन् भने डराउनु पर्दैन् ।’ उनले भने, ‘यो धर्तीको एक जना मान्छेले माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गरोस् जुनसुकै बलिदान गर्न पनि तयार छु ।’
यस्तै उनले जीवनमा चुनौतीहरुको सामना गर्ने आँटका साथ अगाडि बढेको भन्दै अनुशासन, नियम र विधिको शासनका लागि आफूले कुनै खाले सम्झौता नगरेको चर्चा गरे ।
उनले भने, ‘मैले भन्ने गरेको छु । म अनुचित कुराको पक्षमा कहिले पनि रहदिन, म जहिले पनि अनुशासन र नियमको पालना गर्ने, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने, कहिले पनि बदलाको भावनामा नहिड्ने, सबैलाई समेटेर लाने खालको मान्छे हुँ । अनि मलाई भन्छन् तपाई मान्छे चिन्नु हुदैँन् । जीवनमा यस्ता चुनौतीहरु आइरहन्छन्, यी चुनौतीको सामना गर्ने आँटका साथ अगाडि बढ्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्