Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नाइमा र नाडा अटो शोमा बीवाईडीको क्रेजले हामीलाई थप उत्साहित बनाएको छः यमुना श्रेष्ठ (अन्तर्वार्ता)

विज्ञापन
Advertisement

काठमाडाैं। पछिल्लो समय बिवाईडी गाडीको चर्चा परिचर्चा व्यापक छ । हालै बिवाईडीले नाइमाद्धारा आयोजना गरिएको मोबिलिटी एक्स्पो २०२५ बिवाइडीले अल न्यु ‘बिवाइडी एट्टो १’सार्वजनिक गरेपछि यसले आम उपभोक्ताको ध्यान खिचिरहेको छ । पछिल्लो समय अटो बजारको अबस्था, नीति र लगानीका विषयमा केन्द्रित रहेर साइमेक्स इंककी प्रबन्धक निर्देशक, तथा नाडा अटो एसोसिएसनकी केन्द्रिय सदस्य यमुना श्रेष्ठसँग कर्पोरेट यात्राका लागि गरिएको कुराकानीको सम्पादित अंशः

विज्ञापन
Advertisement
Advertisement

छोटो समयमै नाइमा र नाडा अटो शो दुवै आयोजना भए। यी दुईबीच ग्राहकले के फरक अनुभव गर्छन् ?

ग्राहकको अनुभवमा नाइमा र नाडा अटो शोमा खासै फरक छैन। दुवै शो एउटै प्रदर्शनी हलमा हुन्छन् र संरचना पनि उस्तै हुन्छ। नेपालमा अहिले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र नभएकाले हामीले उपलब्ध ठाउँमै सबै व्यवस्था मिलाउनुपर्छ।

दुवै शोमा विभिन्न अफर, डिस्काउन्ट र कार्यक्रम हुन्छन्, त्यसैले सात–सात दिनको छुट्टाछुट्टै शो भनेर होइन, १५ दिन लामो अटो शोको रूपमा हेरे राम्रो हुन्छ।

फरक चाहिँ ब्रान्डको संख्यामा देखिन्छ। नाइमामा फोर–ह्विलरका २१ वटा ब्रान्ड थिए भने नाडामा १८ वटा हुने छन् । यो पनि ठाउँको अभावका कारण ब्रान्डहरू छुट्टिएर सहभागी भएको हो। अहिले पनि धेरै मोडेल प्रदर्शन गर्न चाहँदा स्थानको कारणले अटेन, नाडामा पनि पुराना मोडेल राख्न पाइरहेको छैन।

त्यसैले यी दुई शो प्रतिस्पर्धी होइनन्, बरु अटोमोबाइल क्षेत्र ठूलो छ र सबै ब्रान्डहरू मिलेर अघि बढिरहेका छन् भन्ने सन्देश हो। जबसम्म सरकारले ठूलो स्तरको प्रदर्शनी प्लेटफर्म तयार गर्दैन, ब्रान्डहरू छुट्टाछुट्टै शोमा सहभागी हुने बाध्यता रहिरहन्छ।

तपाईंको मतलब अटो बजार ठूलो भइसकेको छ, भृकुटीमण्डपको सानो प्रदर्शनी स्थलमा सबै व्यवसायीलाई अटाउन नसक्दा दुई संस्थाले छुट्टाछुट्टै अटो शो गर्नुपरेको हो?

हो, बिल्कुलै यही हो। पहिले अटो शोमा सहभागी हुने व्यवसायी र ब्रान्डहरू थोरै थिए, गन्न सकिन्थ्यो। तर अहिले इम्पोर्टर मात्र तीन दर्जनभन्दा बढी भइसकेका छन्, ब्रान्डको संख्या पनि धेरै बढेको छ। तर प्रदर्शनी गर्ने हल भने उही पुरानै छ। यही कारण सबैलाई एउटै समयमा समान रूपमा समेट्न नसकिएको हो।

नाइमा र नाडा अटो शोमा बिवाईडीको उपस्थिति कस्तो हुन्छ? नयाँ के ल्याउँदै हुनुहुन्छ?

हाम्रो लक्ष्य ब्रान्डको उपस्थिति बढाउनु हो, त्यसैले दुवै शोमा स्थान पाउनु धेरै महत्त्वपूर्ण छ। नाइमा र नाडामा फरक–फरक मोडेल प्रदर्शन गर्ने योजना छ। नाइमामा हामीले बीवाईडीको इलेक्ट्रिक ह्याचब्याक ‘एट्टो ३’ लन्च गरिसकेका छौं। नाडामा भने नयाँ मोडेल ल्याउने तयारीमा छौं र त्यो नाडा शोमै लन्च हुनेछ। नाइमामा हामीले ‘सिगुल’ पनि प्रदर्शनीमा राखेका थियौं, नाडामा अर्को नयाँ मोडेल देखाउनेछौं।

तपाईंहरुको छाता संस्थाले नै बजेट र मौद्रिक नीतिबारे आधिकारीक धारणा राखिसकेका छन् । कतै स्वागत गरेको पाइयो कतै, आशंका जनाएको देखियो । व्यवसायीले सरकारबाट अटो क्षेत्रका लागि चाहेको मुख्य कुरा के हो ?

हामीले सरकारसँग चाहेको मुख्य कुरा भनेको नीतिमा स्थिरता हो। विशेषगरी इलेक्ट्रिक भेहिकल (ईभी) नीतिलाई गत तीन वर्षमा सरकारले पटक–पटक परिवर्तन ग¥यो,जसले अनिश्चितता बढायो। यस वर्ष भने दीर्घकालीन सोच र ठोस योजनासहितको स्थिर नीति होस् भन्ने माग गरेका थियौं, र बजेटमा त्यो कुरा केही हदसम्म समेटिएको देखेर स्वागत गरेका छौं।

तर ईभी जस्तै हाइब्रिड गाडीमा पनि कर (ट्याक्स) कम भएको भए अझ राम्रो हुने थियो। त्यसबारे हामीले पर्याप्त गृहकार्य गर्न सकेनौं। सरकारले ईभीलाई प्राथमिकतामा राख्दै २०३० सम्ममा ३०% बजार हिस्सामा पुर्याउने नीति लिएको छ। अहिले हामी करिब ७.७८% मा छौं, र यही नीति कायम रह्यो भने २०३० सम्ममा उक्त लक्ष्य पुग्न सक्नेछौं। तर यो कुरा राष्ट्र बैंकलाई हामीले राम्ररी बुझाउन सकेनौं। अटो क्षेत्र डाटामा आधारित भएर चल्छ, त्यसैले राष्ट्र बैंकले पनि हाम्रो क्षेत्रका तथ्यांक हेरेर नीति ल्याउनुपर्छ। साथै, बैंकहरूले राम्रो क्रेडिट प्रोफाइल भएका ग्राहकलाई ८०-२० को लोन सुविधा दिन पाउनुपर्छ। अहिले यो सीमा राष्ट्र बैंकले कडाइका साथ तोकेको छ, तर बैंकहरूले आफ्नै जोखिम विश्लेषण गरेर ६०-४०, ८०-२० जस्ता अनुपात स्वतः निर्णय गर्न पाउने व्यवस्था भए अझ राम्रो हुन्थ्यो।

राष्ट्र बैंकले स्टेक होल्डरसँग छलफल गर्ने हो भने अझ व्यावहारिक समाधान भेटिन्थ्यो। अटो क्षेत्र पारदर्शी रूपमा चलिरहेको छ र सरकारले पनि हामीसँग छलफल गरेर मागहरू सुन्न थालेको छ। भविष्यमा राष्ट्र बैंकले पनि छलफल गर्ने वातावरण बनायो भने गाडी किन्नको लागि सवारी कर्जा प्रक्रिया अझ सहज हुनेमा म विश्वस्त छु।

विद्युतीय सवारी साधन किन्नका लागि अहिले अघिल्लो मौद्रिक नीतिको प्रावधानले ६० प्रतिशत मात्र बैंकबाट कर्जा र ४० प्रतिशत डाउन पेपेन्ट गर्नुपर्ने जुन प्रावधान छ, त्यसले अहिले अटो बजारलाई प्रभाव पारेको छ कि छैन ?

पक्कै प्रभाव परेको छ। म उदाहरणसहित बताउँछु, अहिले बीवाईडी डल्फिनको मूल्य करिब ४१ लाख रुपैयाँ छ। पहिले ८०-२० नीति हुँदा ग्राहकले केवल ८ लाख रुपैयाँ डाउनपेमेंट राखे पुग्थ्यो, बाँकी ३३ लाख बैंकले फाइनान्स गथ्र्यो। तर अहिले ६०-४० नीति हुँदा डाउनपेमेंट १६ लाख रुपैयाँ छुट्याउनुपर्छ, जसले ग्राहकलाई थप ८ लाखको बोझ थपिदिएको छ।

पहिले ८ लाख जम्मा गरेर गाडी किन्न सक्ने व्यक्ति अहिले त्यो रकम दोब्बर बनाउनुपर्ने अवस्था आएको छ। यसले मध्यम तथा निम्न आयवर्गका लागि गाडी चढ्ने सपना टाढा पारेको छ। धनी वर्गका लागि ५०-५० गरे पनि फरक पर्दैन, तर सानो व्यापार गर्ने वा जागिर खाने, व्यवसायको साथसाथै किस्ता तिर्नेहरूका लागि भने यो नीति गाह्रो साबित भएको छ।

यसरी ६०-४० को नीतिले विशेषगरी युवा पुस्ता र आम ग्राहकको सपना र चाहनामा असर पारेको छ। त्यसैले मैले बारम्बार भनेको कुरा यही हो ।डाटामा आधारित नीति बनाएर मध्यमार्गी समाधान निकाल्नु पर्छ।

बजेटअघि ट्याक्स बढ्ने हल्लाले व्यवसायीहरूले धेरै गाडी भित्र्याए भन्ने सुनिन्छ। तर बजेटमा परिवर्तन नभएपछि बैंकको ब्याजको बोझ पर्न सक्ने भनाइ छ। साँच्चै धेरै गाडी आयात भएको हो? यसले मूल्यमा असर पर्छ? ग्राहकले कस्तो सुविधा पाउनेछन् ?

नेपालमा केही सामान अभाव हुन्छ भन्ने हल्ला फैल्यो भने पहिले नै थुपार्ने स्वभाव छ,र व्यवसायीका लागि बजेट सधैं महत्वपूर्ण हुन्छ। यसपालि धेरै व्यवसायीले बजेट अघि नै धेरै सवारीसाधनको भन्सार पास गराइसकेका थिए। यसमा हरेकले आफ्नो बिक्री अनुमान र बैंकसँगको हिसाबकिताब गरेरै आयात गर्ने निर्णय गरेका हुन्।

जस्तै, मेरो कुरा गर्दा अघिल्लो वर्ष मात्रै ९ सयभन्दा बढी बुकिङ भएकाले मैले धेरै गाडी आयात गरेको थिएँ। यस वर्ष भने बजारको स्थिति हेरेर मात्र आयात गरियो, र नयाँ मोडेल क्रमशः आउनेछन्।
बजारमा “धेरै गाडी आयात भयो“ भन्ने कुरा सुन्न पाइए पनि, मेरो दृष्टिमा यो अघिल्लो वर्षको स्तरमै छ। आयात बजारको मागअनुसार नै भइरहेको छ। त्यसैले मूल्यमा ठूलो हेरफेर हुने सम्भावना कम छ, र ग्राहकलाई तत्कालै मूल्यमा ठूलो राहत मिल्ने अवस्था देखिँदैन।

तपाईंको मतलब के हो भने अटो क्षेत्रमा अहिले आयात गरिएको गाडी स्टकमा बसिरहेको छैन?

हो, अटो क्षेत्रमा अहिले बजारको सिफ्ट ईभी सवारीतर्फ भएको छ। अघिल्ला वर्षहरूमा इन्धनबाट चल्ने गाडीको आयात बढी हुन्थ्यो, तर पछिल्ला चार–पाँच वर्षमा बजार र उपभोक्ता दुवै ईभीतर्फ केन्द्रित भएका छन्। यसको परिणामस्वरूप ईभीका धेरै ब्रान्ड र भेरियन्ट आयात भएका छन्।

इम्पोर्टरहरूले पनि स्टक हेरेर मात्रै नयाँ मोडेल भित्र्याएका छन्। बजारले नचाहेको वा ग्राहकले किन्न नसक्ने मोडेल ल्याइँदैन। बरु ग्राहकले रुचाएका ब्रान्ड र मोडेलका नयाँ संस्करणहरू बढेर आएका छन्।

मलाई त बजेट अघि गाडी ल्याउने आयातकर्ताले फाइदा पाएको देखिन्छ। अघिल्लो वर्ष नयाँ मोडेल जेठतिर मात्रै आउँथे, तर यसपालि कर बढ्ने हल्लाका कारण वैशाखमै नयाँ गाडी भित्रिए र साउनमै अटो शो भइरहेको छ। नयाँ मोडेलका गाडी अहिले नै सडकमा गुड्न थालेका छन्। त्यसैले ‘६ महिनाको स्टक’ भनेर कुरा फैलाउनेभन्दा पनि, हाल आयात भएका गाडीहरू बजारमा पुगिसकेका छन् भन्ने सकारात्मक पक्ष हेर्नु पर्छ।

अहिले सडकमा करिब ८०% गाडी ईभी भइसकेका छन्। चार पाङ्ग्रे होस् वा दुई पाङ्ग्रे, बजार पनि ईभीमै केन्द्रित देखिन्छ। इन्धनबाट चल्ने गाडीहरु विस्तारै बजारबाट रिप्लेस हुँदैछन्?
नेपालमा यति छोटो समयमा ईभीको यति ठूलो वृद्धि हुन्छ भनेर सायद कसैले कल्पना गरेको थिएन, तर आज हामी त्यो परिवर्तन देखिरहेका छौं। तर यसै भन्दैमा इन्धनबाट चल्ने सवारी साधानहरुको सम्भावना पूर्ण रूपमा समाप्त भएको छैन। यदि इन्धनबाट चल्ने गाडीमा नयाँ र आकर्षक प्रविधि आयो भने त्यसको पनि बजार रहनेछ। बजार सधैं प्रविधि र उपभोक्ताको आवश्यकता अनुसार चल्ने हो भोलि अर्को नयाँ प्रविधि आयो भने ध्यान फेरि त्यतै जान सक्छ।

ईभीको मात्र कुरा गरेर पुग्दैन, गाडी टिकाउ हुनुपर्छ, नेपाली सडक र समाजको आवश्यकतामा सुहाउने, सुरक्षित र राम्रो डिजाइन भएको हुनुपर्छ। यी सबै पक्ष पूरा गर्ने गाडी, चाहे ईभी होस् वा आइस, दुवैको बजार रहन्छ।

अन्त्यमा, बीवाईडीको नेपाली बजार कस्तो छ?

हामी नाइमा र नाडा दुवै अटो शोमा सहभागी भएका छौं र त्यसअनुसार बजारमा नयाँ मोडेलहरू भित्र्याएका छौं। नयाँ मोडेलसँगै विक्रिपछिको सेवा, चार्जिङ स्टेशन विस्तार, र ठूला सवारी साधन व्यवस्थापनबारे पनि योजना बनाइरहेका छौं।

हाल नेपालभर १८ वटा डिलर स्टोर छन्। चितवन र काठमाडौंमा वर्कसपसहित ठूला सवारीका लागि एउटै स्थानमा सबै सेवा दिने वन–स्टप शप सञ्चालनमा ल्याइसकेका छौं। अन्य शहरहरूमा पनि यही मोडेल लागू गर्ने काम भइरहेको छ। ब्याट्री मेन्टेनेन्स सेवा पनि चाँडै सुरु गर्दैछौं।

हाम्रो योजना ग्राहक–केन्द्रित छ । ग्राहकलाई कसरी सहज र सरल रूपमा सेवा दिन सकिन्छ भन्नेमा ध्यान दिइरहेका छौं। अन्त्यमा, अटो शो कुनै संस्थाको मात्र नभई नाइमा र नाडा दुवै मिलेर आयोजना गरिएको, ग्राहक र अटो व्यवसायीको १५ दिने उत्सव हो भन्ने रूपमा सबैले लिन अनुरोध गर्दछु।

साझा: Facebook X WhatsApp Telegram
भाेजराज भण्डारी

भाेजराज भण्डारी

संचालक सम्पादक

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit