काठमाडौं । नेपालमा यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव जारी रहने भएको छ। हाल मनसुन केही कमजोर भए पनि बंगालको खाडिमा विकसित भएको न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनतर्फ प्रवेश गरी मध्य भारततर्फ सर्दैछ। सो प्रणालीको प्रभावले असोज १७ गते अर्थात् एकादशीदेखि नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गर्ने र यसले देशभर मनसुनी गतिविधि सक्रिय बनाउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी रहने देखिएको छ। असोज १७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाड र तराई क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असोज १८ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा भई केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। त्यस्तै असोज १९ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षासँगै केही स्थानमा भारीदेखि धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ।
मौसमविद्हरूले दशैं अवधिभर सक्रिय मनसुनका कारण नदी–नाला तथा सडक यातायातमा अवरोध, पहिरो र बाढीको जोखिम बढ्ने भएकाले सतर्क रहन सबैलाई आग्रह गरेका छन्।














प्रतिक्रिया दिनुहोस्