काठमाडौं । उद्योगमा विद्युत् कटौती भएको बिरोधमा मन्तव्य राख्दै गर्दा ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् कटौतीको विरोधमा आयोजना गरेको कार्यक्रममा संस्थागत धारणा राख्नेक्रममा ढलेर जिफन्टका उपाध्यक्ष गौतमको आज भैरहवामा मृत्यु भएको हो ।
सम्बोधनका क्रममा विद्युत महशुल भुक्तानी नगरेको निहुँमा लाइन काटिदिँदा २५ हजार श्रमिकको रोजगारी गुमेको तथा उद्योगी व्यवसाय धरापमा परेको भन्दै उनी आक्रोसित देखिएका थिए । ‘श्रमिकलाई गुमाउन नचाहेको’ बताउँदै गर्दा उनको बोली लरबरिएको सुनिन्थ्यो भने ‘अतःयो कारणले..’ भन्दै गर्दा उनी ढलेका थिए । प्राधिकरणको भैरहवा वितरण केन्द्र अगाडि आयोजित कार्यक्रममा उनले भनेका थिए, ‘‘यो आन्दोलनलाई सांकेतिक आन्दोलनको रूपमा मात्र लिन जरुरी छ । २५ हजार श्रमिकको जुन रोजगारी गुम्दै छन् ती श्रमिकहरुलाई हामीले गुमाउन चाहँदैनौ । अतः यो कारणले ..।’’ उनलाई तुरुन्तै अस्पताल पुर्याउँदा निधन भइसकेको भन्ने दुःखद समाचर सुन्न परेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिए ।
सो कार्यक्रममा उनले करिब साढे ४ मिनेट जति मन्तव्य राखेका उपाध्यक्ष गौतम अकस्मात ढलेसँगै करिब १५ मिनेटभित्र नजिकको अस्पताल पुर्याइएपनि उनको निधन भइसकेको अस्पताल प्रशासनले जनाएको छ ।
वुटवल ज्योतिनगरका ६२ वर्षीय गौतमले मुलुकको ट्रेड युनियन आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए । यस क्षेत्रका १३ वटा उद्योगमा विद्युत् कटौती भएको विरोधमा आयोजित उक्त कार्यक्रममा पनि उनले श्रमिक तथा मजदुरकै पक्षमा आवाज उठाएको सङ्घका अध्यक्ष आचार्यले जानकारी दिए ।




कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्