काठमाडौं। अग्नि ग्रुपको गैरनाफामूलक संस्था अग्नि फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सव विशेष रूपमा मनाउँदै कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत समुदाय सशक्तिकरणतर्फ महत्वपूर्ण कदम चालेको छ। नेपालमा महिन्द्रा गाडीहरूको अधिकृत वितरक अग्नि ग्रुपअन्तर्गत सञ्चालन हुने यस फाउण्डेशनले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई महिन्द्रा एसयूभी४०० मोडेलका दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको हो।
बुढानीलकण्ठ, काठमाडौँमा आयोजित समारोहमा अग्नि फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले ३५ वर्षको यात्रामा समाज र समुदायका लागि अर्थपूर्ण योगदान गर्नुपर्ने आवश्यकताबाट प्रेरित भएर यो सहयोग गरिएको बताइन्। ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ केवल स्वास्थ्य सेवा प्रदान गर्ने केन्द्र मात्र होइन, आशा र भरोसा दिलाउने स्थान हो। यस्तो महत्वपूर्ण कार्यमा सानो तर अर्थपूर्ण योगदान दिन पाउनु हाम्रो लागि गौरवको विषय हो,’ अध्यक्ष श्रेष्ठले भनिन्।
त्यसैगरी, काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रा.डा. भगवान कोइरालाले संस्थाले विद्यालय स्वास्थ्य कार्यक्रम, जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरण, बालरोग पहिचान तथा विभिन्न सामुदायिक स्वास्थ्य गतिविधिहरू सञ्चालन गर्दै आएको जानकारी दिए। उनले प्राप्त इलेक्ट्रिक एसयूभीहरूले अब यी कार्यक्रमहरूलाई अझ सशक्त र प्रभावकारी बनाउन ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे। ‘हजारौँ बालबालिका प्रत्यक्ष लाभान्वित हुनेछन्, र हाम्रो काम सजिलो तथा प्रभावकारी बन्छ, जसको अप्रत्यक्ष फाइदा अझ धेरै परिवारले पाउनेछन्,’ कोइरालाले भने।
अग्नि ग्रुपले अपनाएको ‘राइजिङ टुगेदर’ मूल्य–दर्शनअनुसार समुदायको उन्नति र दिगोपनालाई व्यवसायिक सफलतासँगै समान महत्व दिइएको बताउँदै टोलीले वातावरणमैत्री महिन्द्रा एसयूभी४०० इलेक्ट्रिक एसयूभीहरूले इन्स्टिच्युटका स्वास्थ्य, शिक्षा तथा समुदायमुखी कार्यक्रमहरूको पहुँच विस्तारमा उल्लेख्य योगदान गर्ने विश्वास व्यक्त गरेको छ।
अग्नि फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद तथा विपद्–व्यवस्थापनजस्ता क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको छ। यसअघि फाउण्डेशनले त्रिवि शिक्षण अस्पतालका पीआईसीयू र एनआईसीयूको मर्मत–सम्भार तथा स्तरोन्नति गरी सेवाको गुणस्तरमा महत्वपूर्ण सुधार गरेको थियो। साथै, अस्पतालमा भर्ना भएका बालबालिकाका अभिभावकका लागि “अग्नि विङ” नामक आधुनिक प्रतीक्षालयसमेत स्थापना गरेको छ।
काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले १८ वर्षसम्मका बालबालिकालाई अन्तर्राष्ट्रिय मानकअनुसार किफायती, गुणस्तरीय र समग्र स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउने लक्ष्य राखेको छ। विशेषगरी आर्थिक रूपमा कमजोर तथा जोखिममा रहेका समुदायका बालबालिकालाई दिगो र समान स्वास्थ्य सेवा पहुँच उपलब्ध गराउने इन्स्टिच्युटको उद्देश्य रहेको जनाएको छ।




कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्