काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराईको आफ्नो कार्यकाल सकिन अब केही महिना मात्र बाँकी छ। उनको कार्यकालमा शैक्षिक संघलाई एउटा उचाईमा पु¥याउने काम गरे । साथै उनकै कार्यकालमा १६ औं एजुकेशन फेयरको आयोजना हुँदै छ । सोमबार हुने आयोजनाको तयारी, बस्तुस्थितिका साथै उनको कार्यकाल भरिको समीक्षा, नेपालका कन्सलटेन्सीले सुधार गर्नुपर्ने कुरा, विदेशमा नेपाली विद्यार्थीको अवस्था, राज्यको नीति लगायत विभिन्न विषयमा उनीसँग कर्पाेरेट समाचारका लागि गरिएको कुराकानीको सम्पादित अंशः
पछिल्लो समय नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले के–कस्ता गतिविधि गर्दै आएको छ ? संघ हाल कुन–कुन मुद्दामा केन्द्रित छ ?
पछिल्लो समयमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) विभिन्न महत्वपूर्ण गतिविधि र विषयवस्तुमा केन्द्रित हुँदै आएको छ। हाल संघ मुख्य रूपमा आगामी पुष मसान्ततिर हुने साधारण सभा, वार्षिक प्रतिवेदन तयारी लगायतका संगठनका नियमित काममा संलग्न छ। कोभिड–१९ पछि शिक्षा परामर्श क्षेत्र विस्तार हुँदै गएको अवस्थामा यसको प्रभावलाई कसरी सकारात्मक रूपमा अगाडि बढाउने भन्ने विषयमा पनि इक्यान सक्रिय छ।
यससँगै हालै भएको जेन जी आन्दोलनले आन्दोलनले अन्तर्राष्ट्रिय शिक्षा तथा विद्यार्थी गतिशीलतामा ल्याएको प्रभावबारे वास्तविक अवस्था बुझ्ने र विश्लेषण गर्ने काम भइरहेको छ। अन्तर्राष्ट्रिय शिक्षाको वर्तमान स्थिति, नेपालको भूमिका र ग्लोबल मोबिलिटीमा हामी कहाँ छौँ भन्ने कुरामा पनि संघले ध्यान केन्द्रित गरेको छ । त्यस्तै आगामी मंसिर २२ सोमबार (डिसेम्बर ८) मा आयोजना हुन लागेको एजुकेशन फेयर (भ्मगअबतष्यल ँबष्च० को तयारीमा पनि इक्यान व्यस्त छ। साथै अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी नीतिगत मुद्दा, ऐन–नियम सुधार, मान्यता र समग्रका नीतिगत संवादमा कसरी प्रभावकारी रूपमा संलग्न हुने भन्ने विषयमा संघ निरन्तर कार्यरत छ। समग्रमा, इक्यानको हालको फोकस संगठन सुदृढीकरणदेखि नीतिगत सुधार र अन्तर्राष्ट्रिय शिक्षा प्रवद्र्धनसम्मका विविध क्षेत्रमा रहेको छ।
आगामी सोमबारबाट हुन लागेको एजुकेशन फेयरबारेमा बताइदिनुस् न ?
आगामी सोमबारदेखि सुरु हुन लागेको यो कार्यक्रम वास्तवमा हामीले आयोजना गर्न लागेको १६औं एजुकेशन फेयर हो, जसअघि १५ संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। यसपटकको फेयरले विदेशी अध्ययनतर्फ आकर्षित नेपाली विद्यार्थीलाई अहिलेको अन्तराष्ट्रिय परिवेशले कस्तो प्रभाव पारेको छ भन्ने विषयलाई केन्द्रमा राख्छ। पछिल्ला घटनाक्रमले भिसा नीतिदेखि लिएर विभिन्न देशले नेपालप्रति अपनाएको अभिमुखीसम्म अनेक परिवर्तन ल्याइरहेका छन्, र ती परिवर्तनहरूले विद्यार्थीको सम्पूर्ण योजना र तयारीमा कति असर पारेका छन् भन्ने विषय कार्यक्रमले स्पष्ट पार्नेछ। विदेशी शिक्षामा जान चाहने विद्यार्थी र अभिभावक दुवैका लागि आवश्यक प्रक्रियाहरू, पालना गर्नैपर्ने मानकहरू, सही तयारीका चरणहरू, र अहिले विश्वविद्यालय तथा कलेजहरूको अन्तर्राष्ट्रिय भर्ती प्रक्रियाको वास्तविक अवस्था कस्तो छ भन्ने विषयमा प्रत्यक्ष जानकारी दिने उद्देश्य फेयरको छ।
यसै लक्ष्यसहित हामी डिसेम्बर ८ मा बानेश्वरस्थित एभरेस्ट होटलमा फेयर आयोजना गर्दैछौं। कार्यक्रममा विभिन्न शिक्षा परामर्शदाता, विश्वविद्यालय तथा कलेजका प्रतिनिधि उपस्थिति रहनेछन्, जसले विद्यार्थी र अभिभावकलाई एउटै स्थानमा तथ्यपूर्ण, भरोसायोग्य र उपयोगी जानकारी दिन सहकार्य गर्नेछन्।
यो १६औं एजुकेशन फेयरको मूल भावना भनेकै नेपाली विद्यार्थीले विदेश अध्ययनबारे जेन्युइन परामर्श पाउन, सही सोच बनाउन, र विश्वसनीय जानकारीका आधारमा निर्णय लिन सहयोग पु¥याउनु हो।
तपाईँ इक्यानको अध्यक्षमा हुँदा इक्यानलाई पुर्नसंरचना गर्नुपर्ने धारणा राख्दै आउनु भएको थियो, तपाईँले खोज्जु भएको गर्न खोजेको पुर्नसंरचना कस्तो हो?
इक्यानका अध्यक्षका रूपमा मैले पटक–पटक पुनर्संरचनाको कुरा उठाउनुको मुख्य कारण यो क्षेत्र अहिले निकै ठूलो र प्रभावशाली बनेको हो। नेपालमा करिब ७०० शैक्षिक परामर्शदाताहरू दर्ता छन् र हरेक वर्ष करिब एक लाखजति विद्यार्थी एनओसी लिएर विदेश पढ्न जान्छन्। यस्तो ठूलो क्षेत्रलाई केवल शिक्षा ऐन अन्तर्गत जारी भएको पुरानै निर्देशिकाले नियमन गर्न अब पर्याप्त छैन। शैक्षिक परामर्शलाई ‘ठिक–बेठिक’ को बहसमा होइन, कसरी मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने भन्ने छलफलमा ल्याउनुपर्ने आवश्यकता छ।
विदेश गएका विद्यार्थीलाई भविष्यमै नेपालकै विकासकृत्यमा कसरी जोड्ने भन्ने कुरामा राज्यले स्पष्ट नीति बनाउनुपर्ने माग पनि हामीले उठाउँदै आएका छौं। यही कारणले हामीले शैक्षिक परामर्श क्षेत्रका लागि छुट्टै ऐन आवश्यक छ भनेर वकालत गरेका हौं, ताकि विद्यार्थी, अभिभावक र कन्सल्टेन्सी सबैलाई स्पष्ट पहिचान, अधिकार र जिम्मेवारीसहित नियमन गर्न सकियोस्।
अहिले बजारमा दर्ता भएका र नभएका दुवै प्रकारका कन्सल्टेन्सी देखिन्छन्। यसले विद्यार्थीहरूलाई अनुगमनको नाममा अनावश्यक झन्झट पनि थपिरहेको छ। यसमा हाम्रो धारणा भने बिल्कुलै स्पष्ट छ । हामी आफैं राज्यको नियमनमा आउन चाहन्छौं। शिक्षा मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहले फरक–फरक नियम बनाउँदा अहिले ठूलो भ्रम छ। कसलाई वैध भन्ने, कसलाई अवैध भन्ने आधार नै एकरूप छैन। पहिले राज्यले स्पष्ट मापदण्ड बनाएपछि मात्र कसैलाई छानछुट गर्न सकिन्छ। संरचना नै अस्पष्ट हुँदा वास्तविक अनुगमन र मूल्यांकन सम्भव छैन भन्ने हाम्रो बुझाइ हो।
विद्यार्थीहरू किन विदेशतिर आकर्षित हुन्छन् भन्ने प्रश्नमा पछिल्लो वर्षहरूमा निकै परिवर्तन देखिन्छ। ‘जेन–जेड आन्दोलन’ पछि नेपालमा केही अनिश्चितता र प्रतीक्षाको अवस्था देखिएको छ। धेरै युवा नयाँ अवसर खोज्दै विदेशतिर लागेका छन्। तर सबै ‘फर्किँदैनन्’ भन्ने धारणा गलत हो। धेरै विद्यार्थी १०–२० वर्षपछि अनुभव, सीप र स्रोत लिएर नेपाल फर्किन्छन्। कोभिडपछि त सामाजिक गतिविधि, उद्यमशीलता र राजनीतिमा फर्किएका युवाहरूको संलग्नता झनै बढेको छ। अहिलेका युवामा विश्वस्तरमा प्रतिस्पर्धा गर्ने सोच, आत्मविश्वास र सीप बलियो छ। टेक्नोलोजीले उनीहरूलाई ग्लोबल बनाइदिएको छ, त्यसैले उनीहरू विश्वका जुनसुकै विश्वविद्यालयमा आफ्नो भविष्य खोज्न सक्षम छन्।
फेक डकुमेन्ट, गलत परामर्श वा बढी पैसा लिने जस्ता समस्या यस क्षेत्रमा छन् भनेर नकार्न सकिन्न। तर यी घटनाहरूलाई सबैभन्दा ठूलो समस्या झैं चित्रण गर्नु उचित पनि होइन। हजारौँ सही फाइलमध्ये थोरैमा मात्र यस्तो गतिविधि भेटिन्छ। फेक डकुमेन्ट बनाउनेलाई कडा कारबाही हुनु नै पर्छ। यही कारणले इक्यानले २०६३ सालमै आचारसंहिता तयार पारेको थियो, जसले विद्यार्थीलाई ठग्ने, अनावश्यक शुल्क लिने, फाइल रोकेर बस्ने जस्ता कामलाई निषेध गर्छ। हाम्रो उद्देश्य सधैँ गलत प्रवृत्ति रोक्ने र विद्यार्थीलाई सत्य, सुरक्षित र जिम्मेवार परामर्श उपलब्ध गराउने नै हो।
अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग हाम्रो सम्बन्ध निकै सकारात्मक छ। विश्वविद्यालयका प्रतिनिधि, दूतावास र हाइ कमिसनहरूसँग निरन्तर समन्वय हुन्छ। विदेशका शिक्षालयले तोकेको नियम र मापदण्ड अनुसार विद्यार्थी भर्ना प्रक्रियालाई पारदर्शी बनाउने काममा हामी सक्रिय छौं। हाम्रो भूमिका विद्यार्थी हितका विषयमा सूचनाहरू स्पष्ट रूपमा पु¥याउने, आवश्यक परे एड्भोकेसी गर्ने र सबै पक्षबीच सुदृढ समन्वय कायम राख्ने हो।
हाल अन्तर्राष्ट्रिय विद्यालयहरू प्रविधिमा धेरै अगाडि छन्। यस्तो अवस्थामा परामर्श संघले आफूलाई कसरी प्रस्तुत गरिरहेको छ?
अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा काम गर्ने हामी कन्सल्टेन्टहरूका लागि अहिलेको समय चुनौती र अवसर दुवै हो। पछिल्ला १०–१५ वर्षमा शिक्षा कन्सल्टेन्सी क्षेत्र अत्यन्तै पेशागत रूपमा विकसित भएको छ। काम गर्ने तरिका पूर्ण रूपमा डिजिटल भइसकेको छ।त्यसैले हामीले आफना कम्युनिकेशन च्यानलहरू, अपरेटिङ प्रणाली र कार्यशैलीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अद्यावधिक गर्नु आवश्यक छ। यदि कर्मचारीहरूले आधुनिक प्रविधि र ग्लोबल शिक्षा ट्रेन्डबारे आफूलाई निरन्तर अपडेट गर्न सकेनन् भने उनीहरू चाँडै नै ‘आउटडेटेड’ बन्ने जोखिम हुन्छ।
अन्तर्राष्ट्रिय शिक्षा प्रणाली कता–कता परिवर्तन भइरहेको छ, भर्ना प्रक्रियामा के–कस्ता नयाँ नियम वा चुनौतीहरू आएका छन् । यी सबै कुरा कन्सल्टेन्टले नजिकबाट बुझ्नैपर्छ। त्यही गति र ज्ञानमा अघि बढ्न नसके भने टिकिरहन गाह्रो हुन्छ।
त्यसैले आजको सबभन्दा ठूलो आवश्यकता भनेको डिजिटल परिवर्तन, प्रविधिको सही प्रयोग, र अफिसहरूमा कर्पोरेट कल्चर स्थापित गर्नु हो। शिक्षा कन्सल्टेन्ट बन्नु आज सहज छैन। अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गर्न, आफ्नो ब्रान्ड मजबुत बनाउन, र ती संस्थाले खोज्ने स्तरका सेवाहरू प्रदर्शन गर्न सक्नुपर्छ। त्यो गर्न नसकिए सेल्फ–सस्टेनेबिलिटीमै प्रश्न उठ्न सक्छ।
इक्यानले यिनै कुरामा विशेष ध्यान दिएको छ। विद्यार्थी र अभिभावकलाई कसरी पेशागत रूपमा काउन्सलिङ गर्ने, अफिस संरचना कस्तो हुनुपर्छ, अकाउण्टिङ कसरी पारदर्शी बनाउने, कर प्रणाली कसरी चुस्त राख्ने यी सबै विषयमा इक्यानले वर्षभरि विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ।
इक्यानका ७०० भन्दा बढी सदस्यलाई तालिम र परिक्षण कति दिनुहुन्छ?
इक्यानले आफ्नो सदस्यहरूको क्षमता विकास र पेशागत स्तर उठाउन वर्षभरि विभिन्न तालिम, जानकारीमूलक कार्यक्रम र क्यापासिटी बिल्डिङ गतिविधि सञ्चालन गर्छ। कन्सल्टेन्टहरूले अन्तर्राष्ट्रिय कलेज–युनिभर्सिटीसँग कसरी काम गर्ने, विद्यार्थी भर्ना प्रक्रिया कसरी पारदर्शी र प्रभावकारी बनाउने, नेतृत्व विकास कसरी गर्ने, र ‘इथिकल काउन्सलिङ’का मापदण्डहरू के–कस्ता हुनुपर्छ । यी सबै विषयमा निरन्तर प्रशिक्षण दिइन्छ।
अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा के–कस्ता नयाँ प्रवृत्ति (ट्रेन्ड) र परिवर्तन (चेन्ज) आएका छन् भन्ने विषयमा इक्यानले नियमित म्यापिङ गर्छ र त्यसको ज्ञान आफ्ना सदस्यहरूलाई वितरण गर्छ। तर यो त केवल एउटा पक्ष मात्र हो। हाम्रो पेशा सामाजिक रूपमा पनि निरन्तर परीक्षण मा हुन्छ। धेरैपटक समाजले शिक्षा कन्सल्टेन्सीलाई नकारात्मक रूपमा हेर्ने धारणा बनाइराखेको हुन्छ। तर हामीले सधैं जोड दिँदै आएको कुरा भनेको हामी ‘नलेज एजेन्ट’ हौं, हामी परिवर्तन ल्याउने मान्छे हौं।
हामीले दिएका सही मार्गदर्शनका कारण आज हजारौं नेपाली विद्यार्थी गुणस्तरयुक्त शिक्षाका लागि विश्वका विभिन्न देशहरूमा पुगेका छन्। अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूले पनि नेपाली कन्सल्टेन्टहरूप्रति विश्वास राखेका छन्। गलत काम गर्ने केही व्यक्ति हुन सक्छन्, तर इक्यानका सदस्यहरू संस्थागत इमानदारीका साथ काम गर्छन् भन्नेमा हामी विश्वस्त छौं। नेपाली विद्यार्थीहरू आज विश्वका कलेज–युनिभर्सिटीमा राम्रो प्रदर्शन गरिरहेका छन्। यसको प्रत्यक्ष–अप्रत्यक्ष योगदान हामी कन्सल्टेन्टहरूको पनि हो।यही कारणले हामीलाई अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा ‘स्ट्यान्डर्ड अपरेटर’ को रूपमा मान्यता दिइएको छ।
दक्षिण एसियामा हेर्दा पनि नेपालका शिक्षा कन्सल्टेन्टहरूको छवि भारत, पाकिस्तान, बंगलादेशभन्दा राम्रो र पेशागत देखिएको छ। आज जापानमा ३०–३५ हजार नेपाली विद्यार्थी पुगेका छन्, अस्ट्रेलियामा भिसा सहज छ, र केवल एक वर्षमा २० हजारभन्दा बढी विद्यार्थी युके पुगेका छन् । यो ठूलो उपलब्धि हो।
हाम्रो शिक्षा प्रणालीलाई कसरी सुधार गर्ने, ताकि आज विदेश जाने विद्यार्थीहरू भोलि फेरि स्वदेश फर्कन इच्छा राखुन्?
अब राज्यले गर्नुपर्ने महत्वपूर्ण काम भनेको विदेश गएर सीप, तालिम र ज्ञान हासिल गरेका यी युवा लाई कसरी फर्काएर देशको विकासमा योगदान गराइन्छ भन्नेबारे गम्भीर भएर सोच्नु हो।
नेपालमा ज्ञान उत्पादन अनुसन्धान इनोभेसन ल्याब, विश्वविद्यालय–उद्योग सहकार्य जस्ता क्षेत्रमा राज्यले अहिलेसम्म पर्याप्त ध्यान दिएको देखिँदैन। तर बाहिर गएर विद्यार्थीहरूले उच्च स्तरमा प्रतियोगिता गर्दै आफ्ना सीप विकसित गरिरहेका छन्। यदि तिनै सीपयुक्त युवाहरूलाई देशभित्र फर्काएर विकास प्रक्रियामा जोड्न सकियो भने यो नेपालका लागि ठूलो फाइदा हुने छ। इक्यान चाहन्छ राज्यले यो ठूलो चित्र बुझोस्, र शिक्षा, सीप तथा मानव पूँजीसँग सम्बन्धित नीतिहरूमा आवश्यक सुधार गरोस्।
नेपालको शिक्षा प्रणाली आजको विश्वस्तरको प्रतिस्पर्धामा तयार छैन। हामी प्रायः भवन र क्याम्पस जस्ता भौतिक संरचनालाई शिक्षा सफलताको मानक मान्छौं, तर वास्तविक सफलता भनेको पाठ्यक्रम, शिक्षक, अनुसन्धान, इन्टरडिसिप्लिनरी शिक्षा र विश्वव्यापी प्रवृत्तिमा आधारित ज्ञानको विकासमा छ। आजको विश्व इन्टरडिसिप्लिनरी विषयमा अघि बढिरहेको छ, जस्तै स्पोट्र्स साइकोलोजी, क्रिकेट ह्यान्डलिङ, मेसिन लर्निङ, जस्ता विषयहरू। तर नेपालमा करिकुलम वर्षौंदेखि उही छ, विद्यार्थीको अनुभव र संसार बदलिँदै गर्दा पनि कोर्स परिवर्तन भएको छैन।
हामीले इनोभेसन र नयाँ विषयलाई प्राथमिकता दिन आवश्यक छ। विद्यार्थीहरूले भविष्यका सीप जस्तै मोबाइल बैंकिङ, डिजिटल सेवाको आवश्यकता पत्ता लगाइसकेका छन्, तर स्कुल र कलेजहरूले यी विषयहरूमा पर्याप्त तयारी दिएका छैनन्। सिकाइको तरिकामा पनि परिवर्तन आवश्यक छ। शिक्षक अब केवल ‘गुरु’ होइन, ‘मेंटर’को भूमिकामा हुनु पर्दछ। विद्यार्थीले अनलाइन स्रोतबाट ज्ञान लिन सक्छन्, त्यसैले शिक्षकले मार्गदर्शन र मार्गनिर्देशन गर्नुपर्छ।
नेपालमा दीर्घदृष्टि पनि कमजोर छ। अस्ट्रेलियाले २०५० सम्मको शिक्षा नीति तय गरेर अगाडि बढिसकेको छ। भारतले शिक्षा सुधारलाई प्रधानमन्त्री स्तरको प्राथमिकता बनाएको छ। तर नेपाल अझै २०२८ सालको शिक्षा ऐनको सीमामा अडिएको छ। नयाँ शिक्षा ऐन दस वर्षभन्दा बढी समयदेखि बन्न सकेको छैन। राजनीतिक अस्थिरता र शिक्षक तथा विद्यार्थी आन्दोलनका कारण नीति कार्यान्वयन हुन सकेको छैन।
विदेशी विद्यार्थीलाई नेपालमा ल्याउने वातावरण पनि तयार छैन। नेपाल रणनीतिक रूपमा उत्कृष्ट स्थानमा भए तापनि विदेशी विद्यार्थी भिसा पाउन, कलेजमा भर्ना हुन वा अध्ययन गर्न सक्ने अवस्था छैन। छिमेकी देशहरू जस्तै भारत, बांगलादेश, श्रीलंका र चीनले लाखौँ विदेशी विद्यार्थी भित्र्याइरहेका छन्, तर नेपालमा त्यस्तो वातावरण छैन।
आजको पुस्ता अघिल्लो पुस्तासँग फरक छ। विद्यार्थी अब ९–१२ कक्षामै काम गर्न, पढ्दै कमाउन, सीप प्रयोग गर्न चाहन्छन्। अस्ट्रेलिया र अमेरिकामा जस्तै लचिलो शिक्षा–कामको वातावरण नेपालमा छैन। यहाँ १२ पास भएपछि कडा अनुशासनमा राखिन्छ, र विद्यार्थी विदेशी शिक्षामा आकर्षित हुन्छन्, खुला वातावरणमा रम्न चाहान्छन् ।
विद्यार्थी विदेश गएर हासिल गरेको ज्ञान र अनुभवलाई स्वदेशमा प्रयोग गर्न सक्ने वातावरण बनाउन राज्यले पहल गर्नु आवश्यक छ। अनुसन्धान, इनोभेसन, स्टार्टअप, ब्क्ष्, क्त्भ्ः, टेक्नोलोजी र उद्योग–व्यवसायमा अवसर बढाइयो भने, नीति स्थिर बनाइयो भने, करियरमैत्री प्रणाली लागू भयो भने र भविष्य स्पष्ट देखाइयो भने मात्र विद्यार्थीहरूले विदेश गएर अध्ययन गरेपछि स्वदेश फर्कने इच्छा राख्नेछन्।
नेपालले अब भवन मात्र होइन, ज्ञान उत्पादन, अनुसन्धान, नयाँ कोर्स, डिजिटल–प्रविधि सीप, लचिलो शिक्षा प्रणाली र विदेशी विद्यार्थीको आकर्षणमा ध्यान दिनुपर्छ। यसरी मात्रै विदेश गएका विद्यार्थीले आफ्ना सीप स्वदेशमा प्रयोग गर्न सक्ने वातावरण तयार हुने छ।
अन्तिममा केही भन्न चाहानुहुन्छ?
अब्रोड एजुकेसनको प्रक्रिया जटिल छ र यसमा धेरै पक्षहरूमा ध्यान दिनु पर्छ। यसमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको अभिभावक र विद्यार्थीको सुरक्षालाई प्राथमिकता दिनु हो। जब उनीहरूले कुनै एजुकेसन कन्सल्टेन्सीको सहयोग लिन्छन्, उनीहरूले हेर्नुपर्छ कि त्यो संस्था कतिको पेशागत छ, विद्यार्थीलाई पठाउने क्षमता कत्तिको छ, पूर्व अनुभव र टेस्टिमोनियलहरू विश्वसनीय छन् कि छैनन्, र उनीहरूले दिइरहेका जानकारी सही छन् कि गलत। म सुझाव दिन्छु कि अभिभावक र विद्यार्थीले यो कुरा अन्य स्रोतबाट पनि भेरिफाइ गर्नुपर्छ। यस क्रममा क्यानको भूमिकाले सधैं अभिभावक र विद्यार्थीलाई केन्द्रमा राख्छ।
क्यानले सुनिश्चित गर्छ कि विद्यार्थीको हितमा काम होस् र कुनै पनि अनिश्चितता वा जोखिम हुँदैन। यदि कहीं पनि विद्यार्थीहरू ठगिए, गलत जानकारी दिइयो वा अन्य किसिमको असुरक्षा भयो भने क्यानले त्यसमा हस्तक्षेप गर्छ र आवश्यक सहयोग प्रदान गर्छ। यसरी क्यानले सदस्य कन्सल्टेन्सीहरूलाई मार्गदर्शन र समर्थन गर्ने सुनिश्चितता दिन्छ, ताकि सबै विद्यार्थी र अभिभावकले सुरक्षित र भरोसायोग्य शिक्षा सेवा प्राप्त गर्न सकून्।




कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्