काठमाडौं । सरकार र जेन–जीबीच हिजो (बुधबार) सिंहदरबारमा भएको सम्झौतालाई लिएर जेन–जीको एक समूहले असन्तुष्टि जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो समूहले प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना विरोधीहरुको मुख थुन्न दुई करोड ६७ लाख खर्च गरेर प्रधानमन्त्री बनेको आरोप लगाएको छ ।
एक जेन–जी अभियन्ताले कार्कीले २ करोड ६७ लाख पैसा सुदन गुरुङलगायतका मानिसहरुलाई बाँडेको प्रमाण दिन आफू तयार रहेको बताए । प्रमाण दिन नसकेको खण्डमा आफू झुण्डिन पनि तयार रहेको उनको भनाइ छ । आफूले प्रमाण दिएपछि प्रधानमन्त्री कार्कीले पदबाट राजीनामा दिनुपर्ने उनले बताए ।
‘जुन दिन जङ्गीअड्डाको बाहिर सुशीला कार्कीको विरुद्धमा नारा घन्किँदै थियो, जङ्गी अड्डा बाहिर विरुद्धमा को–को बोलिरहेका छन्, तिनीहरुलाई मिलाउ, तिनीहरुको मुख बन्द गराउ भनेर तपाईँले २ करोड ६७ लाख कस कसलाई दिनुभयो? तपाईँको जेठो छोरा (सुदन गुरुङ) हरुलाई दिनुभएको होइन? म प्रमाण दिन तयार छु । कहाँ आउनुपर्ने हो, त्यो कुरा सत्य होइन भने म झुण्डिन तयार छु । यदि यो कुरा सत्य हो भने तपाईँ राजीनामा दिन तयार हो ?’ प्रश्न गर्दै प्रस मिटमा सहभागी सुनिल सिंहले भने ।
यस्तै, जेनजी समूहका प्रतिनिधि अजय सोडारीले बुधबार भएको सहमतिको मस्यौदामा आफूहरुको सहभागिता नभएको र आफूहरुले केवल निर्वाचनका लागि मात्रै आन्दोलन नगरेको जिकिर गरे । अर्का जेनजी प्रतिनिधि रवि किरणले सहिद परिवार र युवाको आवाज सुन्न सरकारलाई आग्रह गरे भने सरिश्मा थापाले सम्झौतामा हस्ताक्षर हुने तर कार्यान्वयन नहुने स्थितिको अन्त्य हुनुपर्ने बताइन् । नेपाल न्यूज बैंक

















प्रतिक्रिया दिनुहोस्