काठमाडौं । सरकारले उद्योग तथा व्यवसाय सञ्चालनलाई सरल, पारदर्शी र बिचौलियामुक्त बनाउने उद्देश्यसहित नयाँ व्यवस्था लागू गर्ने भएको छ। सार्वजनिक गरिएको कार्यसूचीअनुसार २५ करोड रुपैयाँसम्मका साना तथा मझौला उद्योगहरूको दर्ता प्रक्रिया अब एकीकृत रूपमा घरेलु तथा साना उद्योग कार्यालयमार्फत मात्र गरिनेछ।
हाल कायम रहेको दोहोरो दर्ता प्रणाली अन्त्य गर्दै सरकारले ‘एकद्वार प्रणाली’ लागू गर्ने तयारी गरेको हो। यस व्यवस्थाअनुसार उद्यमीहरूले अब विभिन्न निकाय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ।
सरकारले उद्योग दर्ता प्रक्रियालाई थप सहज बनाउन दर्ता शुल्कसमेत खारेज गर्ने निर्णय गरेको छ। यसले नयाँ उद्यम सुरु गर्न चाहने व्यवसायीहरूलाई लागत घटाउने र उद्यमशीलता प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।
यो व्यवस्था ४५ दिनभित्र कार्यान्वयनमा ल्याइने सरकारको योजना छ। सुधार लागू भएसँगै उद्योग दर्ता प्रक्रियामा पारदर्शिता बढ्ने, अनावश्यक प्रशासनिक झन्झट घट्ने तथा बिचौलियाको प्रभाव न्यून हुने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्