काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले आफू मन्त्री पदबाट बिदा हुन लागेको विषयमा हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताएकी छन्।
आइतबार मन्त्रालयमा आयोजित सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरूले सरकार पुनर्गठन र मन्त्री परिवर्तनको चर्चाबारे प्रश्न गर्दा मन्त्री मेहेताले त्यस्तो कुनै औपचारिक जानकारी आफूलाई नआएको स्पष्ट पारिन्। ‘आधिकारिक रूपमा त्यस्तो केही आएको छैन,’ उनले भनिन्।
सो अवसरमा मन्त्री मेहेताले मन्त्रालयका कामकारबाहीलाई थप प्रभावकारी बनाउन सञ्चारकर्मीहरूसँग नियमित रूपमा छलफल र सुझाव आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्। सरकारको १०० बुँदे कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुँदा यसअघि यस्ता अन्तरक्रियालाई निरन्तरता दिन नसकिएको स्वीकार गर्दै उनले अब प्रत्येक १५ दिन वा एक महिनाको अन्तरालमा संवाद कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन्।
उनले सञ्चारकर्मीहरूबाट प्राप्त सुझाव र सल्लाहलाई मन्त्रालयले गम्भीरतापूर्वक ग्रहण गर्दै नीति तथा कार्यक्रम सुधारमा उपयोग गर्ने बताइन्। मन्त्रालयका कामकारबाही, स्वास्थ्य सेवा, खाद्य स्वच्छता र स्वास्थ्य बीमासम्बन्धी विषयमा उठेका जिज्ञासा तथा सुझावलाई सकारात्मक रूपमा लिइने उनको भनाइ थियो।
कार्यक्रममा मन्त्रालयका सचिव डा। विकास देवकोटाले स्वास्थ्य बीमा सुधार सरकारको प्राथमिकतामा परेको बताएका छन्। उनका अनुसार आगामी आर्थिक वर्षका लागि स्वास्थ्य बीमा कार्यक्रमको बजेट उल्लेख्य रूपमा बढाएर १५ अर्ब रुपैयाँ पुर्याइएको छ। विगतका वर्षहरूमा उक्त कार्यक्रमका लागि करिब साढे सात अर्ब रुपैयाँ बजेट विनियोजन हुँदै आएको थियो।
सचिव देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी, दिगो र नागरिकमैत्री बनाउन आवश्यक सुधारका कदम अघि बढाइएको जानकारी दिँदै सञ्चारकर्मीबाट प्राप्त सुझावहरूले स्वास्थ्य क्षेत्रका नीति तथा कार्यक्रमलाई थप परिष्कृत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

















प्रतिक्रिया दिनुहोस्