Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पोखरी निर्माणसँगै सिक्रेटारका १५ सय रोपनी जमिनमा सिँचाइ सुविधा

पोखरी निर्माणसँगै सिक्रेटारका १५ सय रोपनी जमिनमा सिँचाइ सुविधा
विज्ञापन
Advertisement

भोजपुर । अरुण गाउँपालिका–७ सिक्रेटार क्षेत्रमा निर्माण गरिएका सिँचाइ पोखरीका कारण करिब १ हजार ५०० रोपनी सुक्खाग्रस्त जमिनमा सिँचाइ सुविधा पुगेको छ। पानी अभावका कारण वर्षौँदेखि बाँझै रहने खेतीयोग्य जमिनमा अहिले वर्षभरि खेती गर्न सकिने वातावरण बनेको स्थानीयले बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

वडाध्यक्ष कुमार थापाका अनुसार बर्सेनि खडेरीका कारण कृषि उत्पादनमा असर पर्न थालेपछि योजनाबद्ध रूपमा सिँचाइ पोखरी निर्माण अभियान सुरु गरिएको हो। हालसम्म वडामा छ वटा पोखरी निर्माण भइसकेका छन् भने थप दुई वटा निर्माणाधीन अवस्थामा छन्। निर्माण गरिएका पोखरीबाट सिक्रेटार क्षेत्रका करिब १ हजार ५०० रोपनी जमिनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सिँचाइ सुविधा विस्तार भएको उनले जानकारी दिएका छन्।

उनका अनुसार सुक्खा क्षेत्रमा दिगो पानी व्यवस्थापनबिना कृषि विकास सम्भव नहुने भएकाले मुहानसहितका ठूला पोखरी निर्माण गरिएको हो। पोखरीलाई सिँचाइमा मात्र सीमित नराखी आगलागी जस्ता विपद्का समयमा पानीको स्रोतका रूपमा प्रयोग गर्न सकिने गरी संरचना तयार गरिएको छ। साथै किसानलाई खेतबारीसम्म पानी पुर्‍याउन पाइपसमेत वितरण गरिँदै आएको छ।

वडासचिव अशोक अधिकारीका अनुसार मैदानेमा दुई, दुङ्गेमा एक, सिक्रेटारमा एक र बेलटारमा दुई वटा पोखरी निर्माण सम्पन्न भएका छन्। थप दुई वटा पोखरी निर्माणको काम जारी रहेको उनले बताए।

पोखरी निर्माणपछि विशेषगरी हिउँदे बाली उत्पादनमा सकारात्मक प्रभाव परेको छ। अहिले स्थानीय किसान बदाम, आलु, प्याज, टमाटर, फलफूल तथा तरकारीलगायत नगदेबाली खेतीतर्फ आकर्षित हुन थालेका छन्। स्थानीय प्रदीप थापाले पहिले पानीको अभावका कारण धेरै जमिन बाँझो रहने गरेको भए पनि अहिले वर्षभरि खेती गर्न सकिने अवस्था बनेको बताए।

पोखरी निर्माण अभियानलाई बहुआयामिक विकाससँग जोडिएको वडाध्यक्ष थापाको भनाइ छ। उनका अनुसार पोखरी वरपर वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको छ भने भविष्यमा ती क्षेत्रलाई पर्यटकीय तथा मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना पनि रहेको छ। स्थानीय अम्बर थापाले पोखरी निर्माणले भू–क्षय नियन्त्रण, वातावरण संरक्षण, जैविक विविधता संरक्षण तथा कृषकको आयआर्जन वृद्धि गर्न समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit