काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद् अध्यक्ष एवं पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाली उद्योग र व्यापार क्षेत्रलाई विश्व बजारसँग प्रभावकारी रूपमा जोड्न निजी क्षेत्रको भूमिका अझ सशक्त र गतिशील हुनुपर्नेमा जोड दिएका छन्।
महोत्तरी चेम्बर अफ कमर्सको आयोजनामा बर्दिबासमा सम्पन्न ‘नेपालको वर्तमान उद्योग, व्यापार तथा अन्तर्राष्ट्रिय बजारसँगको समन्वय : अवस्था, अवसर, चुनौती र भावी मार्गचित्र’ विषयक अन्तरक्रिया तथा प्रमाणपत्र वितरण समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
आर्थिक विकासको मेरुदण्ड निजी क्षेत्र
समारोहमा अध्यक्ष श्रेष्ठले निजी क्षेत्र नै देशको आर्थिक विकासको मुख्य मेरुदण्ड भएको उल्लेख गरे। उनले भने, ‘निजी क्षेत्रको सशक्तिकरण र गतिशीलता बिना मुलुकमा दिगो समृद्धि सम्भव छैन। जहाँ उत्पादन बलियो हुन्छ, त्यहाँको अर्थतन्त्र स्वतः बलियो हुन्छ।’ अन्तर्राष्ट्रिय बजारमा नेपालको सम्भावनालाई स्थापित गर्न ‘थिंक ग्लोबल, एक्ट लोकल’ (विश्वव्यापी रूपमा सोचौँ, स्थानीय रूपमा कार्य गरौँ) भन्ने अवधारणालाई व्यवहारमा उतार्नुपर्ने र यसका लागि निजी क्षेत्र, सरकार तथा नीतिगत संयन्त्रबीच बलियो समन्वय हुनुपर्नेमा उनले जोड दिए।
जनकपुर र बर्दिबास क्षेत्रको सम्भावना
अध्यक्ष श्रेष्ठले महोत्तरी र धनुषाको यस क्षेत्र (जनकपुर एवं बर्दिबास) लाई आर्थिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले देशकै महत्त्वपूर्ण क्षेत्रको रूपमा चित्रण गरे। चारै दिशाबाट सडक सञ्जालले जोडिएका कारण यो क्षेत्र भौगोलिक रूपमा मात्र नभई विकासका दृष्टिले समेत उच्च सम्भावनायुक्त रहेको उनको भनाइ थियो।
जानकी मन्दिरको धार्मिक महत्त्वका कारण ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको र यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको उनले बताए। यस क्षेत्रको आर्थिक आधार मुख्यतः व्यापार, उद्योग र कृषिमा टिकेकाले यी तीन क्षेत्रले स्थानीय रोजगारी र समग्र आर्थिक गतिविधिलाई बलियो जग प्रदान गरेको उनको भनाइ छ।
व्यवसायीहरूलाई प्रोत्साहन गर्दै श्रेष्ठले भारत, चीन, भियतनाम लगायतका देशहरूबाट सामान आयात गरी होलसेल व्यापार तथा पर्यटन आकर्षणका कार्यक्रमहरूमा सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। स्थानीय उत्पादनको प्रवर्द्धन, निर्यात अभिवृद्धि, लगानीमैत्री वातावरण र उद्यमशीलताको विकासबाट नै राष्ट्रिय अर्थतन्त्र सुदृढ हुने उनले स्पष्ट पारे।
कार्यक्रममा महोत्तरी चेम्बर अफ कमर्सका अध्यक्ष सुधिर अग्रवालले जिल्लाका उद्योगी व्यवसायीहरूको हकहित संरक्षण र व्यावसायिक वातावरण सुधारका लागि चेम्बर निरन्तर सक्रिय रहेको बताए। सरकारी निकाय र निजी क्षेत्र मिलेर अघि बढेमा उद्योग, व्यापार र रोजगारीका अवसरहरू उल्लेख्य रूपमा वृद्धि गर्न सकिने उनको भनाइ थियो।
अन्तरक्रियामा सहभागी स्थानीय व्यवसायीहरूले स्थानीय उद्योगहरूको प्रवर्द्धन र संरक्षण, उद्योग तथा व्यवसायमैत्री नीतिको निर्माण, बैंक तथा वित्तीय संस्थाहरूमा सहज पहुँच, कर प्रणालीमा सुधार र परिमार्जन तथा औद्योगिक पूर्वाधारको समुचित विकासको लागि जोड दिए।
सोही अवसरमा महोत्तरी चेम्बर अफ कमर्सका नवनिर्वाचित कार्यसमिति सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। जिल्लाका उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको व्यापक सहभागिता रहेको उक्त कार्यक्रमले स्थानीय व्यवसायीहरूलाई वर्तमान आर्थिक अवस्था र अन्तर्राष्ट्रिय व्यापारिक प्रवृत्तिबारे महत्त्वपूर्ण जानकारी र अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको सहभागीहरूले जनाए।

















प्रतिक्रिया दिनुहोस्