काठमाडौं । दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराज समूहले दराज नेपालमा नेतृत्व परिवर्तनको घोषणा गरेको छ।
कम्पनीका अनुसार वर्तमान प्रबन्ध निर्देशक आँचल कुँवरले आफ्नो पद छोड्ने भएकी छन्। आगामी असार १७ देखि लागू हुने गरी दराज समूहका प्रमुख व्यावसायिक अधिकृत तथा हाल दराज बंगलादेशका प्रबन्ध निर्देशक रहेका बेन यीले दराज नेपालको कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नेछन्। बेन यी सँग (कार्यवाहक प्रबन्ध निर्देशक) सन् २०१५ देखि अलिबाबा समूहमा आबद्ध यीसँग डिजिटल बजार विस्तार, सीमापार व्यापार र प्लेटफर्म सञ्चालनको अनुभव रहेको कम्पनीले जनाएको छ।
यस्तै, कम्पनीको आन्तरिक नेतृत्वलाई सुदृढ बनाउँदै दराज नेपालमा सात वर्षदेखि कार्यरत रतिश लुइटेललाई प्रमुख व्यावसायिक अधिकृतमा नियुक्त गरेको जनाएको छ। लुइटेल हाल दराज नेपाल र श्रीलंकाको वित्त प्रमुखका रूपमा कार्यरत छन्। वित्तीय व्यवस्थापन र सञ्चालन क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव भएका लुइटेलसँग नेपाली बजार र संस्थागत संरचनाको गहिरो बुझाइ छ।
दराजमा साढे चार वर्षभन्दा बढी समय नेतृत्वदायी भूमिका निर्वाह गरेकी आँचल कुँवरले तत्कालै कम्पनी पूर्ण रूपमा नछोड्ने बताइएको छ। नेतृत्व हस्तान्तरण प्रक्रियालाई सहज र प्रभावकारी बनाउन उनले आगामी पौष १६, २०८३ सम्म दराज नेपालको सल्लाहकारका रूपमा कम्पनीलाई सहयोग गरिरहनेछिन्।
आफ्नो कार्यकाल स्मरण गर्दै कुँवरले भनिन्, ‘जब म नेपाल फर्किएँ, मेरो उद्देश्य केवल एउटा व्यवसायलाई विस्तार गर्नु मात्र थिएन। म आफूभन्दा ठूलो केही निर्माण गर्न चाहन्थेँ । एक सशक्त संस्था, सक्षम नेतृत्व र नेपालको लागि सबल डिजिटल इकोसिस्टम। हामीले हासिल गरेका उपलब्धिहरू प्रति म अत्यन्त गर्व गर्छु।’
आँचल कुँवरको साढे चार वर्षको नेतृत्वमा दराज नेपालले ई–कमर्स क्षेत्रमा उल्लेखनीय फड्को मारेको छ । दराज नेपालको व्यवसाय दोब्बरभन्दा बढीले विस्तार भएको छ। यस्तै, ग्राहक संख्या ३० लाख नाघेको छ भने विक्रेताको संख्या २४ हजारभन्दा बढी पुगेको छ, जसमा ८५प्रतिशत साना तथा मझौला उद्योग छन्।
हाल दराजको सेवा देशभरका १४० भन्दा बढी स्थानमा विस्तार भएको छ। दराज समूहले कुँवरको योगदान र समर्पणप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत नेपालको डिजिटल रूपान्तरण र उपभोक्ता तथा विक्रेताहरूलाई सशक्त बनाउने आफ्नो दीर्घकालीन प्रतिबद्धता दोहोऱ्याएको छ।

















प्रतिक्रिया दिनुहोस्