काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा आगामी असार ६ र ७ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन–२०२६ आयोजना हुने भएको छ। ‘नेतृत्वमा नारी स् समृद्धिमा सहकारी’ भन्ने मूल नारासहित हुन लागेको सम्मेलनमा नेपालसहित विभिन्न देशका महिला सहकारीकर्मी, नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार तथा उद्यमी महिलाहरूको सहभागिता रहनेछ।
महासंघका महाप्रबन्धक डा। बाबुकाजी थापाका अनुसार सम्मेलनको मुख्य उद्देश्य सहकारी क्षेत्रमा संलग्न महिला किसान तथा सहकारीकर्मीहरूको योगदानलाई उजागर गर्नुका साथै महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणलाई प्रवर्द्धन गर्नु हो। सम्मेलनमार्फत सहकारी क्षेत्रमा लैङ्गिक–उत्तरदायी नीति तथा अभ्यासलाई सुदृढ गर्ने, महिला नेतृत्व विकासका लागि आवश्यक सीप, ज्ञान र अवसर विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय स्तरका सफल अभ्यासहरूको आदानप्रदान गर्ने लक्ष्य राखिएको छ।
सम्मेलनमा महिला सशक्तीकरण, नेतृत्व विकास, खाद्य सुरक्षा, वित्तीय समावेशीकरण, डिजिटल रूपान्तरण, उद्यमशीलता विकास, बजार विस्तार तथा सहकारीमार्फत रोजगारी सिर्जनाजस्ता विषयमा प्रस्तुति र प्यानल छलफल सञ्चालन गरिनेछ। विभिन्न देशका उत्कृष्ट अभ्यास र सफलताका कथाहरू पनि प्रस्तुत गरिने कार्यक्रम छ।
यसका साथै महिला सहकारी उत्पादन प्रदर्शनी, सीप प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा सफल सहकारीहरूको अवलोकन भ्रमणसमेत आयोजना गरिने महासंघले जनाएको छ। सम्मेलनले विभिन्न देशका महिला सहकारीकर्मीहरूबीच सहकार्य र सञ्जाल विस्तार गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’ घोषणा गरेको सन्दर्भमा सम्मेलनले कृषि, खाद्य सुरक्षा र ग्रामीण विकासमा महिलाको भूमिकालाई विशेष प्राथमिकताका साथ उजागर गर्नेछ। नेपालमा कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादनको करिब एक चौथाइ हिस्सा ओगटेको छ भने ग्रामीण महिलाको उल्लेख्य सहभागिता रहेको छ। देशभर सञ्चालित ३२ हजारभन्दा बढी सहकारी संस्थामा महिलाको सहभागिता करिब ५६ प्रतिशत रहेको तथ्यांक छ।
महासंघका अनुसार सम्मेलनमा सहभागी हुन इच्छुक व्यक्तिका लागि अनलाइन दर्ताको व्यवस्था गरिएको छ। प्रति सहभागी पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ। सीमित सिट रहेकाले समयमै दर्ता गर्न इच्छुक महिला सहकारीकर्मीलाई आग्रह गरिएको छ।
सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मुख्य सहकार्य रहनेछ। साथै राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून, साना किसान विकास लघुवित्त, आइएलओ नेपाल र हेफर इन्टरनेशनललगायत संस्थाहरू सह–आयोजकका रूपमा सहभागी हुनेछन्। विभिन्न सहकारी संघसंस्था, बैंक तथा वित्तीय संस्थाले पनि आर्थिक र प्राविधिक सहयोग गर्ने जनाइएको छ।
सम्मेलन सम्पन्न भएपछि ‘काठमाडौं घोषणा–२०२६’ जारी गरिनेछ। उक्त घोषणाले महिला नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन तथा सहकारी क्षेत्रका नीतिगत सुधारमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्