काठमाडौं । फिलिपिन्समा सोमबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)का अनुसार नेपाली समयअनुसार बिहान ५ः०७ बजे गएको भूकम्पबाट हालसम्म भएको क्षति वा मानवीय हताहतीबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
एनसीएसले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु ५.६३५ डिग्री उत्तरी अक्षांश र १२५.१४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। भूकम्प ९३ किलोमिटर गहिराइमा गएको बताइएको छ।
पहिलो भूकम्प गएको करिब ११ मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको अर्को भूकम्पीय धक्का महसुस गरिएको एनसीएसले जनाएको छ। दोस्रो भूकम्प ७९ किलोमिटर गहिराइमा गएको थियो भने यसको केन्द्रबिन्दु ५.६०५ डिग्री उत्तरी अक्षांश र १२५.४०८ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ।
प्रशान्त महासागरीय ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने फिलिपिन्स विश्वका सबैभन्दा बढी भूकम्पीय गतिविधि हुने मुलुकमध्ये एक हो। यस क्षेत्रमा बारम्बार भूकम्प र ज्वालामुखी गतिविधि हुने गरेका छन्।

















प्रतिक्रिया दिनुहोस्