काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले नेपाल र भारतका परराष्ट्र मन्त्रीहरूबीच नयाँ दिल्लीमा सम्पन्न भेटवार्तामा भएका सहमतिहरूको स्वागत गरेको छ। संघले दुवै देशबीचको आर्थिक सहकार्यलाई थप तीव्रता दिन दुवै सरकारसँग आग्रह समेत गरेको छ ।
संघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भारतीय विदेश मन्त्री एस. जयशंकरसँग भएको द्विपक्षीय भेटवार्तामा भएका छलफल र सहमतिहरू सकारात्मक रहेको जनाएको हो । नयाँ दिल्लीमा भएको उक्त भेटवार्तामा व्यापार तथा पारवहन, कनेक्टिभिटी, ऊर्जा, विकास साझेदारी र जनस्तरको सम्बन्धलगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको थियो ।
विज्ञप्तिअनुसार नवप्रवर्तन, स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्ने दुई देशको प्रतिबद्धताले आर्थिक सम्बन्धलाई नयाँ आयाम दिने विश्वास संघले व्यक्त गरेको छ ।
विशेष गरी भारत र नेपालबीच सुरु गरिएको पियर–टु–पियर भुक्तानी प्रणालीलाई निक्कीले महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेको छ। यो प्रणालीले सीमापार रेमिट्यान्स, पर्यटन तथा साना व्यवसायिक कारोबारलाई थप सहज र सुरक्षित बनाउने संघको भनाइ छ । यसैगरी, ‘डिजिटल इन्डिया भाषिनी’ र काठमाडौं विश्वविद्यालयबीच भएको समझदारीले भाषा प्रविधि तथा डिजिटल नवप्रवर्तनका क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास पनि निक्कीले लिएको छ ।
आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन निक्कीले दुवै देशका सरकारलाई विभिन्न बुँदामा विशेष प्राथमिकता दिन आग्रह गरेको छ । विशेषगरी, व्यापार पूर्वाधार तथा सीमा नाकाको आधुनिकीकरण, भन्सार तथा नियामकीय प्रक्रियाको सरलीकरण एवं गैर–भन्सार अवरोधको समाधान, रेल, सडक, हवाई तथा बहुआयामिक कनेक्टिभिटीको विस्तार, ऊर्जा तथा पूर्वाधार आयोजनाहरूको शीघ्र कार्यान्वयन, द्विपक्षीय लगानी प्रवद्र्धन र डिजिटल भुक्तानी प्रणालीको थप विस्तार तथा सरकार–निजी क्षेत्रबीच संस्थागत संवादको सुदृढीकरण गर्न निक्कीले आग्रह गरको छ।
निक्कीले नेपाल–भारत आर्थिक सम्बन्धको मुख्य आधारका रूपमा कनेक्टिभिटी र ऊर्जा सहकार्यलाई औंल्याउँदै पूर्वाधार विकास, जलविद्युत आयोजना, प्रसारण लाइन तथा दीर्घकालीन विद्युत व्यापार व्यवस्थाको कार्यान्वयनलाई तीव्रता दिनुपर्नेमा जोड दिएको छ ।
नेपाल र भारतबीच व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा आर्थिक साझेदारीलाई थप सुदृढ र सहजीकरण गर्न संघले निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत विज्ञप्तिमार्फत व्यक्त गरेको छ ।

















प्रतिक्रिया दिनुहोस्