काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन आगामी जेठ २९ गते शुक्रबार काठमाडौंमा आयोजना हुने भएको छ।
७०० भन्दा बढी ऊर्जा उत्पादक कम्पनीहरू आबद्ध रहेको इप्पानले आफ्नो वैधानिक प्रक्रिया पूरा गरी साधारणसभाको तयारी तीव्र पारेको जनाएको छ। यस पटकको साधारणसभामा इप्पानको नेतृत्व चयन प्रक्रिया र विधानमा महत्त्वपूर्ण परिवर्तन गर्ने प्रस्ताव लैजान लागिएको संस्थाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
गत जेठ २५ गते बसेको इप्पान कार्यसमितिको २०३औँ बैठकले इप्पान विधान २०७८ लाई संशोधन गर्ने प्रस्ताव तयार गरेको छ। नयाँ प्रस्ताव अनुसार अब वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विद्यमान व्यवस्थाको अन्त्य गरिनेछ।
विधान संशोधन भएपश्चात कार्यसमितिमा कम्तीमा एक कार्यकाल पूरा गरी विधान बमोजिम योग्य भएका जुनसुकै व्यक्तिले पनि अध्यक्षको उम्मेदवार हुन पाउनेछन्।अध्यक्षबाहेक अन्य सबै पदहरूमा समेत खुला रूपमा उम्मेदवारी दिन र प्रतिस्पर्धा गर्न पाउने गरी व्यवस्था गर्न लागिएको इप्पानले जनाएको छ।
तत्काल महासङ्घ नबन्ने
यसअघि २०८० जेठ ३२ को २१औँ साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा गठन गरेको ५ सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समितिले इप्पानलाई महासङ्घमा रूपान्तरण गर्ने मस्यौदा पेस गरेको थियो। सो प्रतिवेदन कार्यान्वयनका लागि २३औँ साधारणसभाले अध्यक्षलाई अख्तियारी समेत दिएको थियो।
तर, प्राविधिक, व्यावहारिक तथा कानुनी कारणले तत्काल महासङ्घ बनाउन नसकिने भएपछि गत वैशाख ४ गते बसेको २००औँ कार्यसमिति बैठकले इप्पानकै साविक विधान २०७८ अनुसार नै २४औँ साधारणसभा र आठौँ अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो।

















प्रतिक्रिया दिनुहोस्