काठमाडौं । नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएको पाइएको छ । विश्व ब्रेन ट्युमर दिवसका अवसरमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष शल्यक्रिया गरिएका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको हो ।
राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरोसर्जन डा. राजीव झाले नेपालभरका २० भन्दा बढी न्यूरो केन्द्रमा गरिएको अध्ययनका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन् । उनका अनुसार आर्थिक वर्ष २०८२ मा देशभर तीन हजार जनाको ब्रेन ट्युमर शल्यक्रिया गरिएको छ भने २०८१ मा यो संख्या दुई हजार ६०० थियो ।
तथ्याङ्कअनुसार शल्यक्रिया गरिएका बिरामीमध्ये पुरुष १,५०२ र महिला १,४९८ रहेका छन् । सबैभन्दा बढी बिरामी ३० देखि ५० वर्ष उमेर समूहमा देखिएको छ भने प्रदेशगत हिसाबले बागमती प्रदेशमा ३६.४ प्रतिशत बिरामीको शल्यक्रिया भएको छ ।
डा. झाले ब्रेन ट्युमरका बिरामी नेपालमा वर्षेनि बढ्दै गएको उल्लेख गर्दै प्रारम्भिक चरणमै पहिचान र उपचार भए धेरै बिरामीको जीवन बचाउन सकिने बताए । उनका अनुसार स्टेज १ र २ का ट्युमर शल्यक्रियामार्फत उपचार गर्न सकिन्छ भने स्टेज ३ र ४ मा शल्यक्रियासँगै थप थेरापी आवश्यक पर्छ ।
नेपालमा सबैभन्दा बढी देखिने ट्युमरमध्ये ग्लियोमा प्रमुख रहेको छ । २०८२ मा उच्च ग्रेड ग्लियोमाको अनुपात ४३.१ प्रतिशतबाट बढेर ५५.९ प्रतिशत पुगेको छ भने मेनिन्जियोमाका केस ७.४ प्रतिशतबाट बढेर २७.१ प्रतिशत पुगेका छन् ।
विशेषज्ञहरूका अनुसार निरन्तर टाउको दुख्नु, बिहान उठ्दा वान्ता हुनु, श्रवण क्षमता घट्नु, छारे रोग देखिनु तथा शरीरमा पक्षघातजस्ता लक्षण ब्रेन ट्युमरका संकेत हुन सक्छन् । वीर अस्पतालले पछिल्ला दुई वर्षदेखि निःशुल्क ब्रेन ट्युमर शल्यक्रिया सेवा प्रदान गर्दै आएकोमा यो सेवा आगामी जुन महिनासम्म मात्र उपलब्ध हुने डा. झाले जानकारी दिए ।
‘प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण’ भन्ने नारासहित आज यो दिवस मनाइँदै छ।

















प्रतिक्रिया दिनुहोस्