सिद्धार्थनगर (भैरहवा) । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बर्दियाबाट ४३ लाख ६१ हजार ८४० रुपैयाँ बराबरका अवैध सामान तथा सवारीसाधन बरामद गरेको छ। सीमा क्षेत्रमा हुने तस्करी, भन्सार छली र राजस्व चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत उक्त सफलता हासिल भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बर्दियाको मधुवन नगरपालिका–८ सानोश्री क्षेत्रमा भारतबाट भन्सार छली गरी नेपाल ल्याइँदै गरेको अवस्थामा दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको थियो। भारतको बहराइच जिल्लाका २२ वर्षीय रिजवान अन्सारी र २० वर्षीय कलिम खानलाई पक्राउ गर्दा दुईवटा बोलेरो गाडी, एउटा पल्सर मोटरसाइकल तथा तीन हजार ७९० दर्जन केरा बरामद गरिएको थियो। ती सामान र सवारीसाधनको अनुमानित मूल्य २५ लाख ५९ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी मधुवन नगरपालिका–६ स्थित दुई घरमा गोदाम बनाएर लुकाइराखिएका मटर, सुपारी, सुर्ती, चुरोट, बिँडी, माउथ फ्रेशनर तथा प्लास्टिकजन्य सामग्रीसमेत बरामद गरिएको छ। स्थानीय पदमराज चौधरी र कोपिला खत्रीको घरबाट बरामद गरिएका ती सामानको मूल्य १८ लाख दुई हजार ८४० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सबै सामान तथा सवारीसाधन आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयले खुला सीमा नाकाबाट हुने अवैध आयात, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न रुपन्देही, कपिलवस्तु, नवलपरासी ९पश्चिम०, बाँके, बर्दिया र दाङलगायत जिल्लामा निगरानी तथा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाएको जनाएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले प्रदेशभर सुशासन, शान्तिसुरक्षा र कानुन कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए। सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले तस्करी, राजस्व छली तथा अवैध कारोबार नियन्त्रणका लागि विशेष निगरानी र संयुक्त अभियानलाई निरन्तरता दिइएको जानकारी दिए।
यसैबीच, व्यवसायीहरूले पनि प्रहरीको अभियानप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष नेतृत्व आचार्यले शान्तिसुरक्षा कायम गर्न, चोरी–तस्करी नियन्त्रण गर्न तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रहरीले प्रभावकारी भूमिका खेलेको बताए।

















प्रतिक्रिया दिनुहोस्