महेन्द्रनगर । सडक विभागले कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत अतिक्रमण गरिएका सार्वजनिक जग्गा तत्काल खाली गर्न आग्रह गरेको छ। सडक सीमाभित्र अनुमति बिना निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना हटाउन १५ दिने सूचना जारी गरिएको हो।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार राजमार्गको सडक केन्द्रबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र सडक सीमाभित्र पर्छ। उक्त क्षेत्रमा निर्माण गरिएका घरटहरा, प्रतीक्षालय, शौचालयलगायत संरचनाले सडक अतिक्रमण गरेको भन्दै हटाउन निर्देशन दिइएको छ। कार्यालय प्रमुख राजेशकुमार यादवले गड्डाचौकीदेखि चिसापानीसम्मको १२६ किलोमिटर सडक खण्डमा करिब ८० प्रतिशत अतिक्रमित क्षेत्र रहेको जानकारी दिए। उनका अनुसार लामो समयदेखि विभिन्न स्थानमा सार्वजनिक जमिन ओगटेर अस्थायी तथा स्थायी संरचना निर्माण गरिएका छन्।
सार्वजनिक सडक ऐन, २०३१ अनुसार सूचना अवधिभित्र अतिक्रमित संरचना नहटाइए विभागले आफैं हटाउनेछ। त्यस्तो अवस्थामा संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने कानुनी व्यवस्था रहेको कार्यालयले जनाएको छ।
सडक विभागले राजमार्ग विस्तार, सडक सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणका लागि अतिक्रमण हटाउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्