काठमाडौं । नेपालको पहिलो वाईन उद्योग मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर १० लाख कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्ने तयारी गरेको हो।
आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा मकालु वाईन इन्डस्ट्रीजका अध्यक्ष पिताम्बर पोख्रेल र रिलायबल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन्।
वि.सं. २०५२ सालमा संखुवासभाको धर्मदेवी नगरपालिका–३ मा स्थापना भएको मकालु वाईन इन्डस्ट्रीजले विगत ३१ वर्षदेखि अर्गानिक ‘हिंवा वाईन’ उत्पादन गर्दै आएको छ। समुद्री सतहबाट करिब २ हजार ८ सय मिटर उचाइमा रहेको प्राकृतिक मुहानको पानी तथा जंगलमा पाइने चुत्रो र ऐंशेलु प्रयोग गरी उत्पादन गरिने वाईन कम्पनीको प्रमुख उत्पादन हो।
कम्पनीले आधुनिक प्रविधिको प्रयोगमार्फत उच्च गुणस्तरीय वाईन उत्पादन गर्दै आएको जनाएको छ। करिब २० रोपनी आफ्नै जग्गा रहेको कम्पनीले निकट भविष्यमै अंगुरबाट उत्पादन हुने तीन प्रकारका प्रिमियम वाईन बजारमा ल्याउने योजना पनि सार्वजनिक गरेको छ।
मकालु वाईनमा देवश्री भेन्चर, हारभेस्ट भेन्चर, बिर्तामोड सञ्जीवनी इन्भेष्टमेन्ट तथा स्टक आइडियाज इन्भेष्टमेन्टलगायत संस्थागत लगानीकर्ताको लगानी रहेको छ। कम्पनीको आईपीओ निष्काशनलाई नेपालको अर्गानिक वाईन उद्योगलाई पूँजी बजारसँग जोड्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
बिक्री प्रबन्धक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक संस्था हो। कम्पनीले लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निष्काशन तथा बिक्री व्यवस्थापन, शेयर रजिष्ट्रेशन, डिपोजिटरी सेवा तथा संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

















प्रतिक्रिया दिनुहोस्