काठमाडौं । नेपालको कुल विदेशी विनिमय (विदेशी मुद्रा) सञ्चितिले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनाको (वैशाख मसान्तसम्मको) देशको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार देशको कुल विदेशी मुद्रा सञ्चितिमा ३८.३ प्रतिशतको छलाङ मार्दै ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ मात्र रहेको थियो।
अमेरिकी डलरमा पनि भारी वृद्धि
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा गणना गर्दा विदेशी विनिमय सञ्चिति २४ प्रतिशतले बढेको छ। २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति चालु आवको १० महिना (२०८३ वैशाख मसान्त) मा बढेर २४ अर्ब १९ करोड डलर पुगेको छ। कुल सञ्चितिमध्ये केन्द्रीय बैंक र अन्य इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू दुवैको सञ्चितिमा बलियो सुधार देखिएको छ । प्रतिवेदन अनुसार नेपाल राष्ट्र बैंकसँग मात्र रहेको सञ्चिति ३६.६ प्रतिशतले बढेर ३२ खर्ब ९८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा यस्तो सञ्चिति २४ खर्ब १४ अर्ब ६४ करोड रहेको थियो।
यसैगरी, बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति पनि ५४.४ प्रतिशतको वृद्धि भई ४ खर्ब ६ अर्ब १७ करोड रुपैयाँ कायम भएको छ । असार मसान्तमा यस्तो सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड थियो। कुल सञ्चितिमा भारतीय मुद्रा (भारु) को हिस्सा २०.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
१९ महिनाभन्दा बढीको आयात धान्न पर्याप्त
चालु आर्थिक वर्षको १० महिनाको आयातको ट्रेन्डलाई आधार मान्दा अहिलेको सञ्चितिले २२.६ महिना (झन्डै पौने दुई वर्ष) को वस्तु आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ। यसले १९.२ महिना को वस्तु तथा सेवा दुवैको आयात सहजै धान्न पर्याप्त हुन्छ।
जीडीपी र अन्य सूचकसँगको अनुपात कस्तो ?
सञ्चिति बढेसँगै देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र मुद्राप्रदायसँग यसको अनुपात पनि माथि पुगेको छ । जीडीपीसँगको अनुपात ६०.७ प्रतिशत पुगेको छ। असार मसान्तमा यस्तो अनुपात ४३.८प्रतिशत थियो । कुल आयातसँगको अनुपात भने १५९.७ प्रतिशत पुगेको छ। असार मसान्तमा १२८.१ प्रतिशत थियो । विस्तृत मुद्राप्रदाय सँगको अनुपातमा ४३.३ प्रतिशत कायम भएको छ। असार मसान्तमा ३४.१ प्रतिशत रहेको थियो ।
बाह्य क्षेत्र (रेमिट्यान्स प्रवाहमा देखिएको वृद्धि र आयातमा आएको केही सन्तुलन देखिँदा सकारात्मक परिवर्तनका कारण देशको वित्तीय अवस्था मजबुत बन्दै गएको तथ्याङ्कले देखाएको छ।

















प्रतिक्रिया दिनुहोस्