काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले वृद्धि भई ५८ खर्ब ९ अर्ब ७१ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निजी क्षेत्रतर्फ ३१२ अर्ब बराबर थप कर्जा प्रवाह भएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.३ प्रतिशत अर्थात् ३ खर्ब ६८ अर्ब ६८ करोडले बढेको थियो।
वार्षिक विन्दुगत आधारमा २०८३ वैशाख मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ६.७ प्रतिशतले वृद्धि भएको छ।
राष्ट्र बैंकका अनुसार कुल निजी क्षेत्र कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यी हिस्साहरू क्रमशः ६३.१ प्रतिशत र ३६.९ प्रतिशत थिए।
बैंकिङ प्रणालीअनुसार हेर्दा समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा ५.८ प्रतिशत, विकास बैंकहरूको ५.० प्रतिशत तथा वित्त कम्पनीहरूको २.९ प्रतिशत ले वृद्धि भएको छ।
घरजग्गा धितोमा अझै बढी कर्जा
२०८३ वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जामध्ये ६३.५ प्रतिशत कर्जा घरजग्गा धितो सुरक्षणमा प्रवाह भएको छ। चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा आधारित कर्जाको हिस्सा १४.९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा ६५.१ प्रतिशत थियो।
निर्माण र उपभोग क्षेत्रतर्फ कर्जा विस्तार
समीक्षा अवधिमा विभिन्न आर्थिक क्षेत्रमा कर्जा विस्तारको दर फरक–फरक रहेको छ। निर्माण क्षेत्रतर्फको कर्जा १२.८ प्रतिशत ले बढेर सबैभन्दा उच्च वृद्धि भएको छ। त्यसपछि उपभोग्य क्षेत्रतर्फ १२.३ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १०.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ ६.८ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फ ३।३ प्रतिशत तथा वित्त, बीमा र अचल सम्पत्ति क्षेत्रतर्फ १ प्रतिशत ले कर्जा वृद्धि भएको छ।
तर कृषि क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
आयात कर्जा र मार्जिन कर्जामा उल्लेख्य वृद्धि
कर्जाको प्रकृतिअनुसार समीक्षा गर्दा ट्रष्ट रिसिट (आयात) कर्जा ३६.१ प्रतिशत ले वृद्धि भएको छ। यस्तै मार्जिन प्रकृतिको कर्जा १५.५ प्रतिशत, हायर पर्चेज कर्जा ९.१ प्रतिशत, रियल स्टेट कर्जा ५.३ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ४.३ प्रतिशत, आवधिक कर्जा ४ प्रतिशत तथा क्यास क्रेडिट कर्जा ०.४ प्रतिशत ले बढेको छ।

















प्रतिक्रिया दिनुहोस्