काठमाडौं। आगामी भदौ ५ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतलाई लिएर विवाद उत्पन्न भएको छ।
गीतमा प्रयोग भएका शब्दले शिक्षक तथा शिक्षण पेसाको गरिमामाथि प्रहार गरेको भन्दै नेपाल शिक्षक महासङ्घले आपत्ति जनाएको छ। महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले शुक्रबार प्रेस विज्ञप्तिमार्फत गीतमा महिला शिक्षकप्रति लाञ्छित, अपमानजनक र अमर्यादित शब्द तथा भाव प्रयोग गरिएको उल्लेख छ।
महासङ्घले उक्त गीत तत्काल बन्द गर्न र चलचित्रमा समेत प्रयोग नगर्न आग्रह गरेको छ। विज्ञप्तिमा यस्ता अभिव्यक्तिले शिक्षक समुदायको सम्मानमा चोट पुर्याउने र शिक्षण पेसाको प्रतिष्ठालाई कमजोर बनाउने उल्लेख गरिएको छ।
यसैबीच, चलचित्रका अभिनेता दुर्गेश थापा र प्रियंका कार्की अभिनीत ‘मास्टर्नी’ को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा लिखित निवेदनसमेत परेको छ। तनहुँको व्यास नगरपालिका–११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराईले गीतमाथि प्रतिबन्ध लगाउन माग गर्दै मन्त्रालयमा निवेदन दिएका हुन्।
निवेदनमा उक्त गीतमा समग्र शिक्षक समुदाय, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाप्रति अपमान हुनेगरी अमर्यादित तथा सांस्कृतिक मूल्यविपरीतका शब्द प्रयोग गरिएको उल्लेख छ।















प्रतिक्रिया दिनुहोस्