काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले देशभरका १२ वटा संघीय कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य अब ‘एएमपिआइएस नेपाल’ मोबाइल एपमार्फत उपलब्ध गराउन थालेको छ। किसान, व्यापारी तथा अन्य सरोकारवालाले एपमार्फत दैनिक थोक मूल्य, मूल्यको प्रवृत्ति तथा बजारसम्बन्धी विभिन्न जानकारी सहजै प्राप्त गर्न सक्ने विभागले जनाएको छ।
मंगलबार जारी सूचनाअनुसार नेपाल सरकारको शासकीय सुधारसम्बन्धी कार्ययोजनाअन्तर्गत राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्दै डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्याउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको हो।
विभागका अनुसार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रुपन्देही, बाँके, सुर्खेत र कैलालीस्थित कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य एपमार्फत उपलब्ध हुनेछ।
एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट ‘एएमपिआइएस नेपाल’ एप डाउनलोड गर्न सक्नेछन्। विभागको वेबसाइटमा राखिएको क्यूआर कोड स्क्यान गरेर पनि एप डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ। एपमार्फत न्यूनतम, अधिकतम र औसत थोक मूल्य, विभिन्न बजारबीचको मूल्य तुलना, मूल्यको प्रवृत्ति तथा कृषि मौसमसम्बन्धी बुलेटिनसमेत हेर्न सकिनेछ।
कृषि विभागले यस प्रणालीबाट बजार मूल्यको पारदर्शिता बढ्ने, किसानले आफ्नो उत्पादन बिक्रीका लागि उपयुक्त बजार छनोट गर्न सहज हुने तथा कृषि बजार सूचना प्रवाह थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ। विभागले थप जानकारीका लागि आफ्नो वेबसाइट तथा ‘एएमपिआइएस नेपाल’ मोबाइल एप प्रयोग गर्न अनुरोध गरेको छ।















प्रतिक्रिया दिनुहोस्