Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा नयाँ मोडेल र उत्साहका साथ पुनरागमन गर्ने तयारी गरिरहेको छ । जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले यस्तो जनाकारी दिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

नाइमा अटो मोबीलीटि एक्स्पोका बारेमा कुराकानी गर्दै यस वर्षको एक्स्पोमा फोर्डको नयाँ मोडलको उपस्थिति नरहे पनि अर्को वर्षदेखि यो ब्रान्ड अझ बलियो रूपमा प्रस्तुत हुने बताएका हुन् ।

गोल्छाका अनुसार सन् २०२१ सेप्टेम्बर ९ मा फोर्ड इन्डियाको प्लान्ट बन्द भएपछि नेपालमा फोर्डको व्यवसायिक स्वरूपमा ठूलो परिवर्तन आएको छ ।

विगतमा नेपालमा बिक्री हुने फोर्डका गाडीमध्ये ९५ प्रतिशत साना गाडीहरू हुन्थे, जुन भारतबाट आयात गरिन्थ्यो । ती गाडीहरूको मूल्य ३० लाख रुपैयाँभन्दा मुनिबाट सुरु हुन्थ्यो । तर, भारतमा उत्पादन बन्द भएपछि अहिले थाइल्याण्डबाट मात्र गाडीहरू आयात भइरहेका छन् ।

हाल नेपालमा फोर्डका रेन्जर, एभरेस्ट र ¥याप्टर जस्ता हाई–एन्ड एसयूभी र पिकअप मात्र उपलब्ध छन्, जसको न्यूनतम मूल्य नै १ करोड ४० लाख रुपैयाँबाट सुरु भएर २ करोड ७० लाख रुपैयाँसम्म पुग्ने गरेको छ ।

गोल्छाले युरो–६ मापदण्ड लागू भएपछि मोडेलहरूको संख्यामा कमी आएको र हाल लिमिटेड मोडलहरूमा मात्रै काम गरिरहेको जानकारी दिए । ‘हामीसँग अहिले एक करोडभन्दा मुनिको कुनै गाडी छैन,’ उनले भने, ‘फोर्ड मुस्ताङ्ग जस्ता विलासी गाडी ल्याउने योजना भएपनि यसको मूल्य करिब पाँच करोड पुग्ने भएकाले अहिले नै आँट गरिसकेका छैनौँ ।’

धेरै नेपाली ग्राहकले फोर्डका नयाँ मोडलहरू जस्तै म्याक–ई, फोर्ड ब्रन्को र एफ–१५० को माग गरे पनि प्राविधिक कारणले सबै मोडल नेपाल ल्याउन सम्भव नभएको उनले बताए ।

कतिपय गाडीहरू राइट ह्यान्ड ड्राइभमा उपलब्ध नहुनु र कतिपयको थाइल्याण्डस्थित क्षेत्रीय केन्द्रबाट स्पेयर पाट्र्स र प्राविधिक सहयोग सुनिश्चित नहुनु यसको मुख्य कारण हो ।

कम्पनीले ग्राहकलाई बिक्रीपछिको गुणस्तरीय सेवा दिन नसकिने अवस्थामा गाडी मात्र ल्याउन नचाहेको गोल्छाको भनाइ छ । यद्यपि, सन् २०२७ देखि फोर्डले विश्वव्यापी रूपमा नयाँ मोडलहरू ल्याउने र थाइल्याण्ड बाहेक अन्य मुलुकबाट पनि आयात गर्ने बाटो खुल्ने उनले बताए ।

‘अर्को वर्षसम्म नेपालका लागि उपयुक्त नयाँ मोडलहरू थपिनेछन्, जसले गर्दा हाम्रो बिक्री विकल्प र बजार हिस्सा पनि बढ्नेछ,‘ उनले थपे ।

९९ प्रतिशत सम्भावनाका साथ आगामी वर्षको नाइमा मोबिलिटी एक्स्पोमा फोर्ड पूर्ण क्षमताका साथ सहभागी हुने प्रतिबद्धता समेत उनले व्यक्त गरे । हाल जीओ अटोमोबाइल्सले अटो शोमा एमजी ब्रान्डका नयाँ मोडलहरू प्रदर्शन गरिरहेको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit