काठमाडौं । मुलुकमा विकसित पछिल्लो परिस्थितिका बीच प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुका साथै उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग टेलिफोनमार्फत संवाद गरेका छन्।
प्रधानमन्त्री शाहले बिहीबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।भेटका क्रममा मुलुकको समसामयिक अवस्था, शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि प्रधानमन्त्री शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पनि टेलिफोनमार्फत संवाद गरेका हुन् । संवादका क्रममा मुलुकको वर्तमान अवस्था, पछिल्ला घटनाक्रम तथा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्ने विषयमा विचार–विमर्श भएको जनाइएको छ।
प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपतिबीच भएको छलफलमा मुलुकमा देखिएको संवेदनशील परिस्थितिलाई संवाद, संयम र आपसी समन्वयमार्फत समाधान गर्नुपर्नेमा जोड दिइएको थियो ।
पछिल्ला घटनाक्रमले देशका केही क्षेत्रमा तनाव बढिरहेका बेला राष्ट्रका प्रमुख नेतृत्वबीच भएको यी भेटघाट तथा संवादलाई वर्तमान परिस्थितिको मूल्याङ्कन, शान्ति–सुरक्षा सुदृढीकरण र राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ।















प्रतिक्रिया दिनुहोस्