Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

इतिहास रच्ने दौडमै रोकियो निम्सदाईको जीवन

इतिहास रच्ने दौडमै रोकियो निम्सदाईको जीवन
विज्ञापन
Advertisement

काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक, त्यसपछि विश्व पर्वतारोहणका कीर्तिमानी आरोही बनेका निर्मल पुर्जा ‘निम्सदाई’को अन्तिम यात्रा पनि उनको जीवनजस्तै अप्रत्याशित बन्यो ।

विज्ञापन
Advertisement
Advertisement

पाकिस्तानको ब्रड पिक आरोहण उनको प्रारम्भिक योजना थिएन, तर एउटा गणनाले उनलाई इतिहास रच्ने सम्भावनासम्म पु¥याएको थियो । विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल बिना अक्सिजन आरोहण गर्ने कीर्तिमान बनाइसकेका निम्सदाईले ब्रड पिक सफल भएमा अर्को ऐतिहासिक उपलब्धिको नजिक पुग्ने देखेका थिए । उनको लक्ष्य थियो, विश्वका सबै १४ वटै आठ हजार मिटर भन्दा अग्ला हिमाल दुईपटक बिना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति बन्ने ।

तर यही ऐतिहासिक लक्ष्य पछ्याउने क्रममा ८,०५१ मिटर अग्लो ब्रड पिकमा आएको हिमपहिरोले उनको जीवन यात्रा रोकिदियो । पाकिस्तान जानुअघि निम्सदाईको मुख्य योजना ग्यासरब्रुम–२ (जी–२) आरोहण मात्र थियो । तर अभियान सुरु गर्नुअघि उनले आफ्ना ८ हजार मिटरभन्दा अग्ला हिमालहरूको आरोहण विवरण पुनः विश्लेषण गरे । त्यसपछि उनले सम्भावना देखे– यदि ब्रड पिक पनि आरोहण गर्न सके भने अब केवल चोओयू मात्र बाँकी रहनेछ ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘यो कहिल्यै योजनामा थिएन । सुरुमा योजना केवल जी–२ आरोहण गर्ने थियो । तर पाकिस्तान जानुअघि मैले आफ्नो ८ हजार मिटर आरोहणको हिसाब गरेँ । त्यसपछि महसुस भयो– यदि ब्रड पिक पनि पूरा गरेँ भने केवल चो ओयू बाँकी रहनेछ । त्यसपछि म इतिहासमा पहिलो व्यक्ति बन्नेछु, जसले १४ वटै आठ हजार मिटर अग्ला हिमाल दुईपटक बिना अक्सिजन आरोहण गर्नेछ ।’ उनले अवसर आफैं नचिच्याउने, बरु मौन रूपमा मेहनत गरिरहेकाहरूलाई संकेत गर्ने उल्लेख गरेका थिए ।

म्याग्दीमा जन्मिएका निम्सदाई गोर्खा परिवारका सदस्य थिए । १८ वर्षको उमेरमा सन् २००३ मा उनी बेलायती सेनाको गोर्खा रेजिमेन्टमा भर्ती भए । त्यसपछि सन् २००९ मा बेलायतको विशेष फौज (यूके स्पेशल फोर्सेस) मा छनोट भए ।

१६ वर्षको सैन्य सेवाका क्रममा उनले अनुशासन, जोखिम व्यवस्थापन र कठिन परिस्थितिमा निर्णय गर्ने क्षमता विकास गरे । यही अनुभवले उनलाई पर्वतारोहणमा पनि सफल बनायो । उनले सन् २०१२ मा ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गर्दै पर्वतारोहण यात्रा सुरु गरेका थिए । सन् २०१८ मा सेनाबाट अवकाश लिएपछि उनले पूर्णकालीन रूपमा पर्वतारोहणलाई आफ्नो करियर बनाए ।

६ महिना ६ दिनमा १४ हिमाल आरोहण

निम्सदाई विश्व पर्वतारोहण क्षेत्रमा सन् २०१९ मा चर्चाको शिखरमा पुगे । उनको ‘प्रोजेक्ट पोसिबल’ अन्तर्गत उनले विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरे ।

यो उपलब्धिले उनलाई विश्वकै साहसी पर्वतारोहीमध्ये एक बनायो । उनको जीवन यात्रा र अभियानमाथि आधारित नेटफ्लिक्स वृत्तचित्र ‘फोर्टिन पिक्स नथिङ इज एम्पोसिबल’ले पनि उनलाई विश्वभर चिनायो । सन् २०२३ मा नर्वेली आरोही क्रिस्टिन हरिलाले ३ महिना १ दिनमा १४ हिमाल आरोहण गर्दै उनको समय कीर्तिमान तोडे पनि निम्सदाईको उपलब्धि आधुनिक पर्वतारोहण इतिहासको महत्वपूर्ण अध्यायका रूपमा रह्यो ।

अन्तिम आरोहण र अधुरो सपना

ब्रड पिक आरोहणका क्रममा आएको हिमपहिरोपछि निम्सदाईसहित १० जना आरोही प्रभावित भएका थिए । उनको ट्र्याकिङ उपकरणमा केही समयसम्म हलचल देखिएपछि उनी जीवित रहेको आशा गरिएको थियो । तर उद्धार टोलीले करिब ४८ घण्टापछि उनको शव फेला पारेको जनाएको छ ।

उनको अन्तिम अभियान केवल एउटा हिमाल चढ्ने प्रयास थिएन । त्यो विश्व पर्वतारोहण इतिहासमा अर्को असम्भव देखिएको लक्ष्य पूरा गर्ने यात्राको हिस्सा थियो । गोर्खा सैनिकको अनुशासन, नेपाली हिमालको साहस र विश्व कीर्तिमानको भोक बोकेका निम्सदाई अन्ततः त्यही हिमालमै विलीन भए, जहाँ उनले आफ्नो जीवनको सबैभन्दा ठूलो सपना पछ्याइरहेका थिए । एएनआई

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit