काठमाडौं । सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा ३ करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने तयारी गरेको छ।
यसका लागि तयार पारिएको ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि, २०८३’ को मस्यौदामाथि सोमबार सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र क्षेत्रका सरोकारवालासँग छलफल गरेको हो।
कार्यक्रममा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अनुदान वितरण प्रक्रिया पारदर्शी, प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन स्पष्ट कार्यविधि आवश्यक रहेको बताए। उनले सार्वजनिक स्रोतबाट प्रदान गरिने अनुदानले नेपालको इतिहास, संस्कृति, राष्ट्रिय पहिचान र सामाजिक यथार्थलाई प्रवर्द्धन गर्ने गुणस्तरीय चलचित्र निर्माणमा सहयोग पुग्नुपर्ने धारणा राखे।
‘अनुदान रकमको दुरुपयोग नहोस् र त्यस्तो अनुदान लिनका लागि प्रक्रिया पनि अनावश्यक रूपमा झन्झटिलो नहोस् भन्ने उद्देश्यले कार्यविधि निर्माणमा पर्याप्त तयारी गर्न आवश्यक छ’ मन्त्री तिमिल्सिनाले भने, ‘नागरिकको करबाट संकलित रकम चलचित्र निर्माणमा खर्च गर्दा त्यसले देश, समाज र जनताका लागि महत्वपूर्ण योगदान गर्न सक्नुपर्छ । सोहिअनुरुप कार्यान्वयनयोग्य र प्रभावकारी कार्यविधि बनाउन सबै सरोकारवालासँग पनि सरकारले सुझाव लिन्छ ।’
छलफलमा सहभागी निर्माता, निर्देशक, कलाकार तथा विज्ञहरूले अनुदान वितरणमा पारदर्शिता, निष्पक्षता र स्पष्ट मापदण्ड कायम गर्नुपर्ने सुझाव दिएको मन्त्रालयले जनाएको छ। उनीहरूले नयाँ तथा उदीयमान चलचित्रकर्मीलाई प्राथमिकता दिनुका साथै पर्यटन प्रवर्द्धन, नेपाली कला–संस्कृति, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायका विषय समेटिएका चलचित्रलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
मन्त्रालयले सरोकारवालाबाट प्राप्त सुझाव समेटेर कार्यविधिलाई अन्तिम रूप दिएपछि सांस्कृतिक तथा राष्ट्रिय महत्वका उत्कृष्ट चलचित्र निर्माणका लागि विनियोजित ३ करोड ५० लाख रुपैयाँ प्रोत्साहन अनुदान वितरण गरिने जनाएको छ।















प्रतिक्रिया दिनुहोस्