काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंक सञ्चालक समितिमा कम्तीमा सात सदस्य रहने प्रस्ताव उपयुक्त रहेको उल्लेख गर्दै अर्थसचिवको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
प्रतिनिधिसभाको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमाथिको आजको छलफलमा उनले यस्तो बताएका हुन् । नेपाल राष्ट्र बैंकलाई थप सक्रिय, प्रभावकारी र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री वाग्लेले वित्तीय नीति र मौद्रिक नीति एकअर्काका परिपूरक भएकाले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि धारणा राखे ।
मन्त्री वाग्लेले नेपालले भारतीय मुद्रासँग स्थिर विनिमय दर कायम राखेकाले राष्ट्र बैंक पूर्ण रूपमा स्वतन्त्र मौद्रिक नीति सञ्चालन गर्ने अवस्थामा नरहेको बताए । छलफलका क्रममा उनले स्थिर विनिमय दर, स्वतन्त्र पुँजी प्रवाह र पूर्ण स्वतन्त्र मौद्रिक नीति एकैपटक सम्भव नहुने बताए ।
यस्तै, अर्थमन्त्रीले राष्ट्र बैंकमा तीन जना डेपुटी गभर्नर आवश्यक नरहेको भन्दै दुई जना पर्याप्त हुने तथा सञ्चालक समितिमा आर्थिक, मौद्रिक, बैंकिङ, कानुन, व्यवस्थापन, तथ्याङ्कलगायत विभिन्न क्षेत्रका विज्ञको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा राखे । अनुसार राष्ट्र बैंकमा कार्यकारी निर्देशक (इडी)हरूको छुट्टै संरचना रहेकाले थप डेुटी गभर्नर आवश्यक पर्दैन ।














प्रतिक्रिया दिनुहोस्