काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा अघि बढाएका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद्मार्फत जनतामाझ जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेटका क्रममा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विकास आयोजना, स्थानीय समस्या तथा सुदूरपश्चिमको समग्र राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।सांसदहरूले गेटा विश्वविद्यालय सञ्चालन, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा देखिएको छाडा चौपाया व्यवस्थापन, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माणलगायत विषय उठाएका थिए ।
त्यसैगरी, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, भन्सारसम्बन्धी समस्या, आरक्षपीडितका समस्या, हुलाकी सडक, किसानका लागि धान खरिद–बिक्री व्यवस्था तथा दोधारा–चाँदनी क्षेत्रमा भइरहेको नदी कटानबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएको उनको निजी सचिवालयले जनाएको छ।
भेटमा सुदूरपश्चिमका विकास सम्भावना र दीर्घकालीन योजनाबारे समेत छलफल भएको थियो ।
प्रधानमन्त्रीसँगको भेटमा रास्वपाका सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायतको सहभागिता थियो।















प्रतिक्रिया दिनुहोस्