काठमाडौं । दोलखाका ४२ वर्षीय मनोज घिमिरे पेसाले सवारी चालक हुन्। आफ्नो पेसा गर्दै परिवार पालिरहेका उनले जीवनमा यस्तो विपत्ति आइपर्ला भन्ने कहिल्यै कल्पनासम्म गरेका थिएनन् ।
जब आफ्नै शरीरमा अचम्मको रोग देखियो र पीडा बढ्दै गयो, तब उनले दिनप्रतिदिन बाँच्ने विश्वास नै गुमाउँदै गए । अनेकौं अस्पताल धाए, सयौं उपाय अपनाए धेरै औषधि खाए । कतिपय ठाउँमा जाँदा त ‘एउटा नसा फुटिसकेको छ, अब अर्को पनि फुट्न सक्छ’ भनेर तर्साइएको उनको भनाइ छ। त्यो थाहा पाएपछि छोराछोरी र परिवारका सबै सदस्य चिन्तित बने । जति उपचार गर्दा र औषधि खाँदा पनि दुखाइ घट्नुको सट्टा झन–झन् बढ्दै गयो । रोगले जति च्याप्दै जान्थ्यो, त्यति नै बाँच्ने आशा पनि हराउँदै जान्थ्यो ।

रोगले च्याप्दै गएपछि गाडी चलाउन पनि समस्या भयो । एक वर्ष त उनले काम गर्नै सकेनन् । त्यसपछि उनी जिरीभन्दा ४० किलोमिटर टाढाको विकट ठाउँबाट अनेकौं उपाय लगाएर एम्बुलेन्समा काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोट पुगे । त्यहाँ उनको भेट न्यूरोइन्टरभेन्सन विशेषज्ञ डाक्टर अरुण पौडेलसँग भयो र उनकै टोलीले उपचार सुरु गर्यो । विभिन्न अस्पताल धाउँदा धाउँदा भावनात्मक रुपमा कमजोर बनिसकेका घिमिरेलाई केएमसी पुग्नेबित्तिकै बाँच्ने आत्मविश्वास बढ्न थालेको बताउँछन् । उहाँले (डा. पौडेलसँग) ‘तपाईं सही ठाउँमा आइपुग्नुभएको छ, केही हुँदैन, ढुक्क हुनुस्’ भन्नुभएको थियो । उहाँले जस्तो भन्नुभयो, त्यस्तै भयो,’ घिमिरे सम्झन्छन्।

डाक्टर पौडेलका अनुसार अस्पताल आइपुग्दा घिमिरेको मस्तिष्कमा नसा फुटेर रगतको माकुराको जालोजस्तो भएको थियो । यसअघि पनि एक पटक नसा फुटिसकेको रहेछ। मस्तिष्कमा रगत जम्ने र छारे मिर्गी रोग गराउने ब्रेन एभीएम भएका कारण उनी बेलाबेलामा काम्ने र बेहोस हुने गर्थे । त्यसपछि डाक्टरले नयाँ प्रविधिमार्फत खुट्टाबाट तार र पाइप छिराएर जालो भएको स्थानसम्म पु¥याए अनि ओनिक्स एम्बोलाइजेसन गरेर उक्त जालोलाई पूर्ण रूपमा टालिदिए।
उपचार सफल भएपछि डाक्टर पौडेलले बिरामीले बुझ्ने भाषामा भने, ‘अब त्यो जालो फुट्दैन।’ त्यसमा घिमिरेले फेरि सोधे, ‘अब त फुट्दैन नि?’ घिमिरेलाई पूर्ण रूपमा आश्वस्त पार्दै डाक्टर पौडेलले ठट्यौली शैलीमा मुस्कुराउँदै भने, ‘अब जालो नै छैन, के फुट्नु !’

‘डाक्टरको उपचार गर्ने र बिरामीसँग व्यवहार गर्ने शैली एकदमै राम्रो रहेछ। नर्सहरूको व्यवहार त वर्णन गरेर साध्य नै छैन,’ निको भएर घर फर्कने तयारी गर्दै गरेका घिमिरेले भने, ‘अहिले अस्पतालहरूमा नर्सको यस्तो व्यवहार र स्याहार पाउनु भनेको त भाग्यमै लेखेर ल्याएको हुनुपर्छ ।’ निको भएपछि उनले थपे, ‘अब म बाँच्छु पनि र गाडी चलाएर परिवार पनि पाल्न सक्छु ।’ केएमसी दुवाकोटमा यस्तो रोगको सफलतापूर्वक उपचार सम्पन्न भएको यो पहिलो केस हो।















प्रतिक्रिया दिनुहोस्