काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले देशको आर्थिक रूपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ सबैभन्दा महत्वपूर्ण आधार भएको स्वीकारेका छन्। उनले नेपाल राष्ट्र बैंकलाई केवल जोखिम व्यवस्थापन गर्ने नियामकका रूपमा सीमित नरही आर्थिक रूपान्तरणको सहयात्री र समस्या समाधान गर्ने संस्थाका रूपमा अघि बढ्न आग्रह गरे।
बुधबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले अहिले सहुलियतभन्दा पनि स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयनको अपेक्षा गरिरहेको उल्लेख गर्दै भने‘ हामीले पछिल्लो एक दशकलाई फर्केर हेर्नुपर्छ। के हामीले नीतिगत रूपमा सही निर्णयहरू गर्न सकेनौँ ? धेरै ठाउँमा सकेका थियौँ। तर ती निर्णयहरू कार्यान्वयनसम्म पुग्दा किन अपेक्षित परिणाम दिन सकेनन् ?’
यस्तै, उनले हालै उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भएको छलफलको अनुभव सुनाउँदै सरकार, राष्ट्र बैंक, बैंकिङ प्रणाली र निजी क्षेत्र एउटै सोच र प्राथमिकताका साथ अघि बढ्नुपर्नेमा जोड दिए। अर्थमन्त्री वाग्लेले पछिल्लो एक दशकका आर्थिक नीतिको समीक्षा गर्दै नीतिगत निर्णय भए पनि कार्यान्वयनमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको कारण गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने धारणा राखेका थिए । उनले निजी क्षेत्र किन क्रमशः प्रतिरक्षात्मक बन्दै गयो, बैंकमा पर्याप्त तरलता हुँदाहुँदै पनि उद्योगमा कर्जा किन पुग्न सकेन, उत्पादन र उत्पादकत्वले अपेक्षित गति किन लिन सकेन भन्ने प्रश्नको उत्तरले आगामी दशकको आर्थिक नीति निर्धारण गर्ने उल्लेख गरे।
‘किन निजी क्षेत्र क्रमशः प्रतिरक्षात्मक बन्दै गयो ?’ अर्थमन्त्रीले थप भने,‘ किन लगानीको आत्मविश्वास कमजोर भयो ? किन बैंकमा तरलता बढ्दै गयो तर उद्योगमा कर्जा पुग्न सकेन ? किन पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर बन्दै गयो ? किन उत्पादन र उत्पादकत्वले अपेक्षित गति लिन सकेन ? यी प्रश्नको उत्तरले आगामी दशकको आर्थिक नीति निर्धारण गर्नेछ।’ उनले चालु आर्थिक वर्षको बजेटलाई सामान्य वार्षिक कार्यक्रम नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको मार्गचित्र भएको उल्लेख गर्दै त्यसको सफल कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले पनि आफ्नो भूमिका पुनर्परिभाषित गर्नुपर्ने बताए।
उत्पादनमुखी कर्जा र नवप्रवर्तनमा जोड
अर्थमन्त्री वाग्लेले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउने, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, उत्पादन र रोजगारीसँग जोड्ने तथा पुँजी बजार र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध विकास गर्ने उपायबारे राष्ट्र बैंकसँग सुझाव मागेको उनको सचिवालयले जनाएको छ। यस्तै, उनले डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण तथा नयाँ वित्तीय उपकरणलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको पनि बताए। उनले भने, ‘अब नियमनको उद्देश्य केवल नियन्त्रण होइन, उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनु पनि हो। हाम्रो नियमनले नवप्रवर्तनलाई रोकिरहेको छ कि प्रोत्साहन गरिरहेको छ भन्ने विषयमा आत्मसमीक्षा आवश्यक छ।’
‘सम्भव छैन’ होइन ‘सम्भव बनाउन के गर्ने’ भन्ने सोच आवश्यक
अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि अब ‘यो सम्भव छैन’ भन्ने सोच त्यागेर ‘यसलाई सम्भव बनाउन के गर्नुपर्छ’ भन्ने मानसिकताबाट अघि बढ्नुपर्नेमा जोड दिए। उनका अनुसार अहिले नेपाललाई सबैभन्दा बढी आवश्यक परेको विषय नै नीतिगत आत्मविश्वास हो। सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ प्रणाली र निजी क्षेत्र सबै आत्मविश्वासका साथ अघि बढ्न सके आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन नहुने उनले बताए। ‘ हामी यो सम्भव छैन भन्ने सोचबाट होइन, यसलाई सम्भव बनाउन के गर्नुपर्छ ? भन्ने सोचबाट छलफल गरौँ। किनभने अहिले नेपाललाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो,’ उनले अगाडी भने,‘यदि सरकार आत्मविश्वासी छ, नेपाल राष्ट्र बैंक आत्मविश्वासी छ, बैंकिङ प्रणाली आत्मविश्वासी छ र निजी क्षेत्र आत्मविश्वासी छ भने आर्थिक वृद्धि धेरै टाढाको लक्ष्य हुँदैन।’
अर्थले राष्ट्र बैंकलाई ‘सहयात्री’ बनाउन चाहेको छ
सरकारले कानुनी संशोधन, संस्थागत सुधार तथा कार्यान्वयनलाई तीव्रता दिइरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले मौद्रिक नीतिमा पनि त्यही स्पष्टता, गति र प्रतिबद्धता आवश्यक रहेको बताए। उनका अनुसार सरकारले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको ‘सहयात्री र सह–निर्माता’ का रूपमा हेर्न चाहेको छ ।
छलफलमा उठेका विषयलाई कार्ययोजनामा रूपान्तरण गरिने, आवश्यक परे नीतिगत समन्वयका लागि संयुक्त कार्यदल गठन गरिने र निर्णय प्रक्रियालाई अझ छरितो बनाइने प्रतिबद्धता पनि छलफलमा अर्थमन्त्रीले व्यक्त गरेको उनको निजी सचिवालयले जनाएको छ। सम्बोधनका क्रममा अर्थमन्त्री वाग्लेले सुधारको राजनीतिक इच्छाशक्ति, आर्थिक स्थायित्व र निजी क्षेत्रको तयारीलाई उपयोग गर्दै सरकार, राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्र एउटै दिशामा अघि बढे नेपालको आर्थिक रूपान्तरण अब कल्पनामा सीमित नरही कार्यान्वयनको चरणमा प्रवेश गर्ने धारणा राखे । ‘हामीसँग अहिले दुर्लभ अवसर छ। सुधारको राजनीतिक इच्छाशक्ति छ। आर्थिक स्थायित्वको आधार बनेको छ। निजी क्षेत्र अवसरका लागि तयार छ। अब राज्यका संस्थाहरूले पनि एउटै आत्मविश्वास, एउटै स्पष्टता र एउटै गतिका साथ अघि बढ्नुपर्छ,’ अर्थमन्त्रीले भने,‘ यदि सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्र एउटै दिशामा अघि बढे भने नेपालको आर्थिक रूपान्तरण कल्पनामा रहने छैन, कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ।’















प्रतिक्रिया दिनुहोस्