रौतहट । रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुलनजिक महेन्द्र राजमार्गमा आज बिहान पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि भीषण आगलागी भएको छ। दुर्घटनामा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भए पनि कुनै मानवीय क्षति भएको छैन।
बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर बिहान करिब ५ः३० बजे सडकमा अचानक निस्किएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेतर्फ पल्टिएको थियो। पल्टिएलगत्तै ट्याङ्करमा आगलागी भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरबाट १५ जना प्रहरी परिचालन गरिएको थियो। चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाबाट पुगेका दमकलको सहयोगमा बिहान ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
दुर्घटनामा ट्याङ्कर पूर्ण रूपमा क्षति भएको छ। ट्याङ्कर चालक बाराको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार अहिले महेन्द्र राजमार्गमा यातायात आवागमन पूर्ण रूपमा सुचारु भइसकेको छ। घटना चन्द्रनिगाहपुर बजारबाट करिब १३ किलोमिटर पश्चिम धनसार पुल क्षेत्रमा भएको हो।















प्रतिक्रिया दिनुहोस्