काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३\०८४ को पूँजी बजार नीतिअन्तर्गत प्राथमिक पूँजी बजारमा गुणात्मक सुधार गर्ने उद्देश्यसहित ‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ।
बोर्डले सार्वजनिक गरेको श्वेतपत्रले नेपालको प्राथमिक पूँजी बजारको वर्तमान अवस्था, कानुनी तथा संस्थागत संरचनाका सीमितता, अन्तर्राष्ट्रिय असल अभ्यास तथा आगामी दशकका लागि आवश्यक सुधारका रणनीतिहरू समेटेको छ। साथै यसले प्राथमिक बजारलाई थप पारदर्शी, निष्पक्ष, प्रतिस्पर्धी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउने दीर्घकालीन मार्गचित्र प्रस्तुत गरेको बोर्डले जनाएको छ।
श्वेतपत्रमा प्राथमिक पूँजी बजारको विकासका लागि नीतिगत, कानुनी, संस्थागत तथा कार्यान्वयन सम्बन्धी एकीकृत रूपरेखा प्रस्ताव गरिएको छ। यसमा हालसम्म भएका नियामकीय सुधार, प्राथमिक बजारको विद्यमान अवस्था, समस्या, चुनौती, समाधानका उपाय, अन्तर्राष्ट्रिय अनुभव तथा आगामी रणनीतिहरू विस्तृत रूपमा समेटिएका छन्।
तीन चरणमा सुधार कार्यान्वयन
श्वेतपत्रले प्राथमिक बजार सुधारलाई तीन चरणमा कार्यान्वयन गर्ने योजना अघि सारेको छ।पहिलो चरणअन्तर्गत एक वर्षभित्र आवश्यक ऐन, नियमावली तथा निर्देशिकामा संशोधन, बुक बिल्डिङ प्रणालीको पुनरावलोकन तथा अन्य नीतिगत सुधार गरिने उल्लेख गरिएको छ।
दोस्रो चरणमा एकदेखि दुई वर्षभित्र डिजिटल आईपीओ प्लेटफर्म, ई–केवाईसी रेगटेक तथा सुपटेक जस्ता प्रविधिमा आधारित नियामकीय प्रणाली विकास गरी संस्थागत तथा प्रविधिगत क्षमता सुदृढ गरिने योजना छ।
तेस्रो चरणमा दुईदेखि पाँच वर्षभित्र पूर्ण रूपमा बजार–आधारित मूल्य निर्धारण प्रणाली लागू गर्ने, योग्य संस्थागत लगानीकर्ता तथा एङ्कर इन्भेस्टर को सहभागिता सुनिश्चित गर्ने लगायतका उन्नत बजार विकासका कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ।
ड्यु डिलिजेन्सलाई थप उत्तरदायी बनाइने
श्वेतपत्रले निष्काशन तथा बिक्री प्रबन्धक, लेखापरीक्षक तथा क्रेडिट रेटिङ संस्थाहरूको सम्बन्धी दायित्वलाई स्पष्ट गर्दै उनीहरूको उत्तरदायित्व र जवाफदेहितालाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
श्वेतपत्र केवल आईपीओ प्रणाली सुधारमा सीमित नरही राष्ट्रिय पूँजी निर्माण, निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा दीर्घकालीन लगानी परिचालनमार्फत नेपालको आर्थिक रूपान्तरणका लागि रणनीतिक आधार दस्तावेज का रूपमा कार्यान्वयन गरिने श्वेत पत्रमा उल्लेख छ ।
सरोकारवालासँग परामर्शपछि चरणबद्ध कार्यान्वयन
बोर्डले आगामी दिनमा सरोकारवाला निकाय, लगानीकर्ता, निष्काशनकर्ता तथा बजारका अन्य सहभागीहरूसँग निरन्तर परामर्श गर्दै प्रस्तावित सुधारहरूलाई नीतिगत, कानुनी, प्रक्रियागत तथा प्रविधिगत सुधारमार्फत चरणबद्ध रूपमा कार्यान्वयन गर्ने जनाएको छ।
बोर्डको विश्वास अनुसार यस श्वेतपत्रले प्राथमिक बजारप्रति लगानीकर्ताको विश्वास र सहभागिता बढाउने, वित्तीय साक्षरता अभिवृद्धि गर्ने, नयाँ लगानी उपकरणहरूको विकासलाई प्रोत्साहन गर्ने तथा नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक रूपमा सुदृढ बनाउँदै आर्थिक विकासका लागि आवश्यक दीर्घकालीन पूँजी परिचालनमा महत्वपूर्ण योगदान पुर्याउनेछ।















प्रतिक्रिया दिनुहोस्